काठमाडौं : सरकारले जेनजी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेनजी सहिद परिवारको हितका लागि सरकारले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको जानकारी दिए।
बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय पनि गरेको छ। त्यस्तै, समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय भएको छ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र ओमान सरकारबीचको समझदारीपत्र, नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौता स्वीकृत गरेको छ। साथै, पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश–२०८२ पनि स्वीकृत गरिएको प्रवक्ता खरेलले बताए।
त्यसैगरी, बैठकले वन तेस्रो संशोधन नियमावली–२०८२ स्वीकृत गरेको छ। साथै, नेपाल लेखा परीक्षण सेवा, समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णयसमेत गरिएको छ।




































