काठमाडौँ । नेपाल स्काउटको स्वामित्वमा रहेको जग्गामा व्यापारी दिपक खड्काले निर्माण गरेका अवैध संरचनामा आज डोजर चलाइएको छ। स्काउटले दिएको एक साताको अन्तिम म्याद सकिएसँगै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको प्रत्यक्ष पहल र निर्देशनमा उक्त संरचना हटाइएको हो।
बिहानैदेखि सञ्चालन गरिएको सो कारबाहीमा मन्त्री गुप्ता स्वयं सक्रिय भूमिका निर्वाह गरेका थिए। कारबाहीका क्रममा मन्त्रालयका अधिकारी, स्काउटका पदाधिकारी र सुरक्षाकर्मीको उपस्थितिमा संरचना भत्काइएको थियो।
डोजर सञ्चालनका बेला जेनजी अभियन्ता सुदन गुरुङ पनि उपस्थित थिए। उनले संरचना हटाउने प्राविधिक कार्यको अनुगमन गरेका थिए। स्काउटका अनुसार सो जग्गा स्काउटको नाममा दर्ता भई सार्वजनिक प्रयोजनका लागि प्रयोग हुँदै आएको हो। तर, पछिल्ला वर्षहरूमा सो क्षेत्रमा केही व्यक्तिहरूले स्वामित्व दाबी गर्दै अवैधरूपमा संरचना निर्माण गरेका थिए।
दिपक खड्काले बनाएको संरचना पनि सोही विवादित क्षेत्रभित्र पर्न गएको र पटक–पटकको चेतावनीका बाबजुद नहटाइएकाले अन्ततः बलपूर्वक हटाउनुपरेको स्काउट स्रोतले जनाएको छ। यसअघि स्काउटले दिपक खड्कालाई सात दिनभित्र अवैध संरचना हटाउन लिखित सूचना दिएको थियो। म्याद सकिएपछि बुधबार रातिसम्म पनि संरचना यथावत रहेकाले बिहीबार बिहानैबाट डोजर सञ्चालन गरिएको हो।

































