काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले माघ महिनादेखि दैनिक १० हजार थान सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छाप्ने तयारी गरेको छ। यसअघि ब्लक डाटा उपलब्ध नहुँदा अत्यावश्यक लाइसेन्स मात्रै छाप्दै आएको केन्द्रले अब भने लामो समयदेखि प्रिन्ट हुन बाँकी रहेको लाइसेन्स (ब्याकलग) छाप्न तीव्रता दिने भएको हो।
यातायात व्यवस्था विभागले एकैपटक १ लाख थान लाइसेन्सको ब्लक डाटा उपलब्ध गराउने भएपछि छपाइ प्रक्रिया तीव्र हुने भएको हो। विभागले कर्णाली प्रदेशका १ लाख आवेदनको ब्लक डाटा ‘मिडलवेयर सफ्टवेयर’मा इन्ट्री गरिसकेको र छपाइका लागि सुरक्षण मुद्रण केन्द्रमा पठाउने तयारी गरेको जनाएको छ।
सुरक्षण मुद्रण केन्द्रले कात्तिक २१ गतेदेखि क्यूआर कोडसहितको लाइसेन्स छपाइ सुरु गरेको भए पनि दुई महिनामा जम्मा ९ हजार थान मात्रै लाइसेन्स छापिएको छ। प्रारम्भिक चरण परीक्षणकाल भएकाले छपाइ सुस्त भएको केन्द्रले जनाएको छ।
केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाका अनुसार अब माघ महिनादेखि जनशक्ति थप गरी छपाइको गति उल्लेख्य रूपमा बढाइनेछ। “अब दैनिक १० हजार थानका दरले लाइसेन्स छाप्ने आन्तरिक तयारी भइरहेको छ,” उनले बताए।
हाल नयाँ ट्रायल पास गरेका तथा नवीकरणका लागि आवेदन दिएका गरी करिब ३० लाख थान लाइसेन्स प्रिन्ट हुन बाँकी रहेको विभागले जनाएको छ। लाइसेन्स छपाइका लागि केन्द्र र विभागबीच गत कात्तिक १२ गते सम्झौता भएको थियो। सो सम्झौता अनुसार सुरक्षण मुद्रण केन्द्रले ६ महिनाभित्र १२ लाख थान लाइसेन्स छापेर विभागलाई उपलब्ध गराउनुपर्नेछ।
सम्झौता अनुसार सुरुका तीन महिनामा प्रतिमहिना १ लाखका दरले ३ लाख र बाँकी तीन महिनामा ९ लाख गरी कुल १२ लाख थान लाइसेन्स छपाइ गरिने व्यवस्था गरिएको छ।




































