काठमाडौं । मोरङ क्षेत्र नम्बर-३ मा पछिल्लो समय स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, सिँचाइ, पुल निर्माण तथा सांस्कृतिक संरक्षणलगायतका क्षेत्रमा उल्लेखनीय पूर्वाधार विकास भएका छन्। संघीय सांसद डा. सुनील कुमार शर्मा को पहलमा ती योजनाहरू अघि बढेको जनप्रतिनिधि तथा स्थानीय बासिन्दाले बताएका छन्।
सांसद शर्माको कार्यकालमा विभिन्न क्षेत्रमा बजेट विनियोजन र कार्यान्वयनलाई प्राथमिकता दिइएको छ। कोशी प्रदेश सांसद मानबहादुर लिम्बूसँगको सहकार्यमा क्षेत्रका ठूला तथा दीर्घकालीन योजनाहरू अघि बढाइएको जनाइएको छ।
स्वास्थ्य क्षेत्रमा संरचनागत विस्तार
पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनको प्रक्रिया अघि बढाइएको छ। ओपीडी भवन निर्माणका लागि बजेट विनियोजन भई संरचना निर्माणको काम भइरहेको छ। पाँच सय शैय्याको अस्पताल निर्माण कार्यसमेत प्रगतिमा रहेको बताइएको छ।
यसैगरी, बेलबारी–११ सहित विभिन्न स्थानमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ। सांसद शर्माको पहलमा सञ्चालन भएका निःशुल्क स्वास्थ्य शिविरमार्फत विपन्न नागरिकले सेवा पाएका छन्। गत भदौ २३ गते काठमाडौंमा भएको जेन्जी आन्दोलनका घाइतेहरूको उपचारसमेत निजी पहलमा गरिएको उल्लेख गरिएको छ।
पुल र तटबन्ध निर्माण
मोरङ–३ अन्तर्गतका विभिन्न खोलामा पुल निर्माण कार्य अघि बढाइएको छ। सुनझोडा, फुङ्नाम चोक–किर्तिपुर, किराँती चोक–पूर्व गोही होली, दुधाहा र लोहोन्द्रा खोलामा निर्माणाधीन पुलले आवतजावत सहज बनाएको स्थानीयको भनाइ छ।
त्यसैगरी बक्राहा, डाँस, लोहोन्द्रा, चिसाङ र कुइरी खोलामा तटबन्ध निर्माण कार्य जारी रहेको छ। बाढीबाट हुने क्षति न्यूनीकरणमा यी संरचनाले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
खानेपानी र शहरी पूर्वाधार
पथरी, बेलबारी, इन्द्रपुर, बयरवन, सलकपुर, डाँगीहाट र शनिश्चरे क्षेत्रमा खानेपानी आयोजना सञ्चालनमा छन्। एडीबीको सहकार्यमा थप आयोजनाको डीपीआर अन्तिम चरणमा रहेको जानकारी दिइएको छ।
सडक पूर्वाधारतर्फ ९० प्रतिशतभन्दा बढी सडक कालोपत्रे गरिएको दाबी गरिएको छ। पथरी–बुद्धचोक सडक, रत्नमार्ग, शुक्रपथ मार्ग, जनमार्गलगायतका सडक स्तरोन्नति भएका छन्। बेलबारी–१० मा टेलिकम टावर निर्माणसमेत सम्पन्न भएको छ।
शिक्षा क्षेत्रमा लगानी
क्षेत्रका विभिन्न विद्यालयमा भवन निर्माण, कम्प्युटर हस्तान्तरण, अंग्रेजी कक्षा सञ्चालन तथा विद्यालय बस उपलब्ध गराइएको छ। श्री चन्द्र किराँतेश्वर मावि, श्री बुद्ध मावि, धीरनाथ संफुल मावि, श्री सरस्वती आधारभूत विद्यालय र श्री सुन्तली आधारभूत विद्यालयमा पूर्वाधार विस्तार गरिएको छ।
कृषि, सिँचाइ र पेट्रोल खानी पहल
कृषि उत्पादन वृद्धि र सिँचाइ सुविधा विस्तारका लागि डिप बोरिङ र सामुदायिक सिँचाइ योजना सञ्चालनमा ल्याइएको छ। बेलबारीमा धान सुपरजोन कार्यक्रम स्वीकृत गरिएको छ। पेट्रोल खानी पुनः अन्वेषणका लागि पहल गरिएको जनाइएको छ।
संस्कृति र पर्यटन
जनयुद्ध स्मृति प्रतिष्ठान संग्रहालय, लक्ष्मीनारायण मन्दिर, ओमसियार जम्बुलिङ बुद्ध गुम्बा तथा आदिवासी जनजाति सामुदायिक भवन निर्माण तथा स्तरोन्नतिका काम सम्पन्न भएका छन्। कानेपोखरी क्षेत्रको पर्यटन पूर्वाधार विकाससमेत अघि बढाइएको छ।
सामाजिक पहल र राजनीतिक प्रतिबद्धता
सांसद शर्माले सांसद भएपछि राज्यबाट प्राप्त हुने तलब–भत्ता नलिने निर्णय सार्वजनिक गरेका थिए। संसदमा स्वास्थ्य बिमा लगायतका विषयमा सार्वजनिक महत्वका प्रस्ताव दर्ता गरेका छन्।
स्थानीय बासिन्दाका अनुसार पछिल्ला वर्षहरूमा मोरङ–३ मा सडक, पुल, खानेपानी, स्वास्थ्य र शिक्षा क्षेत्रमा देखिएको परिवर्तनले क्षेत्रीय विकासमा सकारात्मक प्रभाव पारेको छ।




































