काठमाडौँ । साताको दोस्रो दिन आज पनि शेयर बजारमा गिरावट देखिएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरे पनि बजारमा अपेक्षित उत्साह सिर्जना हुन सकेको छैन। उल्टै राजनीतिक अस्थिरता, सम्भावित आन्दोलनका चर्चा र बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गर्दै आएका त्रैमासिक विवरणले लगानीकर्तामा जोखिमबोध झन् बढाएको देखिन्छ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.२८ अंकले घटेर २६४५.२४ बिन्दुमा आएर थामिएको छ।
उपसमूह सूचकातर्फ हेर्दा आज आठ उपसूचक राताम्य बने। वाणिज्य बैंक समूहको सूचक ०.६८ प्रतिशत, होटल तथा पर्यटन समूह ०.०४ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.७३ प्रतिशत ले घटेपछि समग्र बजार दबाबमा परेको विश्लेषकहरूको टिप्पणी छ। अन्य सूचकहरूमा पनि सामान्यदेखि मध्यम स्तरको बेचबिखन दबाब कायम रह्यो।
मौद्रिक नीतिको प्रभाव, राजनीतिक घटनाक्रम र आगामी आन्दोलनका समाचारले बजार मनोबलमा नकारात्मक प्रभाव पारेको भन्दै लगानीकर्ताले नजिकबाट बजारको गति नियालिरहेका छन्। बजार स्थिरतामा फर्किन यसअघि छिचोलिएको अनिश्चितताको वातावरण अन्त्य हुनु आवश्यक रहेको विश्लेषकहरूको भनाइ छ।
घटेको बजारमा आज यूनाइटेड मोदी हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २७ करोड १० लाख ३ हजार रुपैया बराबरको कारोबार भएको हो। कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन रिइन्स्योरेन्सको १५ करोड ३८ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।
त्यस्तै उक्त दिन बन्दीपुर केवलकारको १४ करोड ६७ लाख ९२ हजार रुपैंया, नेपाल रिइन्स्योरेन्सको १३ करोड ५४ लाख १२ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड ६९ लाख २४ हजार रुपैयाँको कारोबार भएको हो ।

































