काठमाडौँ। मौन अवधिमा नगदसहित पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा–३ का उम्मेदवार अशेश्वर यादव र उनीसँगै नियन्त्रणमा लिइएका अन्य चार जना रिहा भएका छन्।
जिल्ला मुख्य निर्वाचन अधिकृत श्री प्रकाश उप्रेतीका अनुसार उनीहरूलाई तीन दिनभित्र सन्तोषजनक स्पष्टीकरण पेश गर्ने सर्तमा मुक्त गरिएको हो।
यादवलाई गएराति नेपाल–भारत सीमा नजिकको माडर क्षेत्रमा ४ लाख ८७ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको थियो। चेकजाँचका क्रममा उम्मेदवार यादवसहित बिष्णुपुर ५ लक्ष्मिपुरका ३२ वर्षिय श्याम कुमार यादव, ३५ वर्षिय राम प्रवेश यादव, ४० वर्षिय बप्रेन्द्र कुमार यादव र सवारी चालक नरहा ३ का २८ को जितेन्द्र कुमार महतो पक्राउ परेका थिए ।
निर्वाचन कार्यालयका अनुसार प्रारम्भिक रूपमा कागजात तथा विवरण अध्ययन गरिसकिएको छ। “तत्कालका लागि तीन दिनभित्र स्पष्टीकरण बुझाउने अवसर दिएका छौं। प्राप्त जवाफ र प्रमाणका आधारमा थप प्रक्रिया अघि बढाइनेछ,” मुख्य निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिए।
आयोगले पाँचै जनालाई तोकिएको समयभित्र स्पष्ट जवाफ पेश गर्न निर्देशन दिएको छ। यसैबीच, बरामद गरिएको नगद रकम, प्रदेश २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडी तथा अन्य सामग्री भने हालका लागि नियन्त्रणमै राखिएको छ।































