काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। साथै, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले समेत देशभरको मौसममा प्रभाव पारेको छ।
देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। तर बबई नदीको बहाव भने सतर्कता तहको आसपास पुगेको र बढ्दो अवस्थामा रहेको जनाइएको छ।
रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, डोटी, डडेलधुरा, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ। यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको पूर्वानुमान गरिएको छ।
त्यसैगरी, इलाम, झापा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका, बारा, पर्सा, कास्की, तनहुँ, स्याङ्जा, म्याग्दी, बागलुङ, पर्वत, गुल्मी, पाल्पा, अर्घाखाँची, बाँके, दाङ, सुर्खेत, दैलेख, बैतडी, दार्चुला र आसपासका जिल्लामा केही स–साना नदीहरूको बहाव बढ्ने पूर्वानुमान गरिएको छ। यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने जनाइएको छ।




































