National life

रङ, सद्भाव र परम्पराको पर्व: देशभर फागुपूर्णिमा उत्साहपूर्वक मनाइँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१८ फागुन २०८२, सोमबार
934Shares
रङ, सद्भाव र परम्पराको पर्व: देशभर फागुपूर्णिमा उत्साहपूर्वक मनाइँदै
ncell

काठमाडौं । आज फागुपूर्णिमा अर्थात् होली पर्व देशका हिमाली तथा पहाडी जिल्लामा उल्लास, उमंग र आपसी सद्भावका साथ मनाइँदै छ। वसन्त ऋतुको आगमनसँगै रंग, खुशी र मेलमिलापको सन्देश बोकेको यस पर्वमा सर्वसाधारण एक–आपसमा अबीर, रङ र लोला खेल्दै हर्ष प्रकट गरिरहेका छन्।

परम्पराअनुसार प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व प्राचीनकालदेखि निरन्तर चलिआएको सांस्कृतिक धरोहर हो। समाजमा आपसी सम्बन्ध सुदृढ गर्ने, कटुता भुल्ने र भाइचाराको भावना विस्तार गर्ने विश्वासका साथ यो पर्व मनाउने परम्परा रहेको छ।

Royal Enfield
nic asia capital

पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकामा होली पर्वलाई सभ्य र मर्यादित बनाउने प्रयास प्रभावकारी देखिएको छ। केही वर्ष अघिसम्म सडकमा हिँड्ने व्यक्तिलाई इच्छा विपरीत रङ तथा लोला हान्ने जस्ता गतिविधि हुने गरे पनि प्रहरी प्रशासनको सक्रियता र जनचेतनाका कारण यस्ता घटनामा उल्लेख्य कमी आएको छ।

वसन्तपुरको चिर र टुँडिखेलको परम्परा

काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा गाडिएको ‘चिर’ आज विधिपूर्वक ढालेर बाजागाजासहित टुँडिखेलमा लगेर दहन गरिने परम्परा छ। चिरमा राखिएका ध्वजापताका औषधीय गुणयुक्त हुने विश्वास गरिन्छ भने त्यसको खरानीको टीका लगाउँदा अनिष्ट टर्ने जनविश्वास रहिआएको छ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि सिँगारिएको चिरमा पूजा गरेपछि फागु पर्व सुरु भएको मानिन्छ। आज राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई प्रतीकात्मक रूपमा भोजन चढाई सैनिक अस्पतालभित्रको ‘जधु’ धारामा विसर्जन गर्ने नेवार समुदायको मौलिक परम्परा पनि कायम छ।

धार्मिक प्रसंग र मान्यता

धार्मिक ग्रन्थअनुसार त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने प्रयासस्वरूप आगोले नछुने वरदान पाएकी बहिनी होलिकालाई आगोमा पठाएका थिए। तर होलिका भष्म भइन् र प्रह्लाद सुरक्षित रहे। सत्यको विजय र असत्यको पराजयको प्रतीकस्वरूप होली मनाउने परम्परा चलेको विश्वास गरिन्छ।

त्यसैगरी द्वापरयुगमा कंशद्वारा पठाइएकी राक्षसनी पुतनालाई श्रीकृष्णले वध गरेको प्रसंगसँग पनि फागु पर्व जोडिएको धार्मिक मान्यता छ।

तराई र समुदायगत विशेषता

सरकारले फागुपूर्णिमाका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ। हिमाली तथा पहाडी जिल्लामा आज पर्व मनाइँदा तराई क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने चलनअनुसार मंगलबार पर्व मनाइँदै छ र सो दिन सार्वजनिक बिदा दिइएको छ।

थकाली समुदायले विशेष पोसाकमा सजिएर परिवारसहित भेला भई तीर हान्ने प्रतियोगिता गर्ने परम्परा यस पर्वको अर्को आकर्षण हो। सात दिनसम्म चल्ने फागु पर्वमा आफन्तजन भेला भई मीठा परिकारका साथ रमाइलो गर्ने परम्परा आज पनि जीवन्त छ। समग्रमा, फागुपूर्णिमा केवल रङको पर्व मात्र नभई सांस्कृतिक एकता, धार्मिक आस्था र सामाजिक सद्भावको प्रतीकका रूपमा स्थापित भएको छ।

यो समाचार शेयर गर्नुहोस्
934SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?