काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपालीको सरकार नभएको दाबी गरेका छन् ।
बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दे ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘यो नेपालीको सरकार होइन ।’ ओलीले गृहमन्त्रीलाई आफूले नचिनेको तर सम्हालिन सुझाव दिए । उनले राजनीतिलाई ख्यालठट्टा नठान्न चेतावनी समेत दिए ।
उनले आफूलाई पक्राउ गर्ने लगायतका विषय उठाएर गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नउत्ताउलिन चेतावनी दिएका छन् ।
‘पासपोर्ट रोक्का रे । डाँडो काट्न नहुने हो रे । सुशीला कार्की डरको डरले केपी ओली भाग्छ रु,’ उनले भने, ‘हुन त म अहिलेका गृहमन्त्रीलाई चिन्दिन । तर म गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन र नचम्किन सुझाव दिन चाहन्छु । राजनीति चलाउने देश चलाउने ख्याल ठट्टा होइन ।’
‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि संसद् भंग गर्न सर्त राख्नुभयो । संसद् भंग गर्ने पूर्वसर्त राखेर जनताको सर्वोच्च सार्वभौम संस्थाको र लोकतन्त्रको जग भत्काउने सर्तमा प्रधानमन्त्री बन्नुभयो’, ओलीले भने, ‘उहाँलाई राम्ररी थाहा छ– संविधानको व्याख्या गरेर आउनुभएको हो । केके गर्नुभयो त्यो उहाँलाई थाहा छ ।’






































