काठमाडौँ। देश यतिबेला निर्वाचनको संघारमा उभिएको छ। आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरू आफ्नो चुनावी अभियानलाई तीव्र बनाइरहेका छन्। गाउँदेखि सहरसम्म घरदैलो, आमसभा, कोणसभा र मतदाता अन्तरक्रियाका कार्यक्रमले चुनावी माहोल तातेको छ। निर्वाचन नजिकिँदै जाँदा विभिन्न क्षेत्रमा प्रतिस्पर्धा झन् रोचक र अर्थपूर्ण बन्दै गएको देखिन्छ।
यही चुनावी सन्दर्भमा रुपन्देही निर्वाचन क्षेत्र न. २ विशेष चासोको केन्द्रमा छ। यस क्षेत्रबाट नेकपा (एमाले)का प्रभावशाली नेता विष्णुप्रसाद पौडेल पटक–पटक निर्वाचित हुँदै आएका छन्। यसपटक भने उनीसँग प्रतिस्पर्धा गर्न नेपाली कांग्रेसका तर्फबाट चुन्नप्रसाद शर्मा (पौडेल) चुनावी मैदानमा उत्रिएका छन्।
राष्ट्रिय राजनीतिमा तुलनात्मक रूपमा नयाँ अनुहार जस्तै देखिए पनि रुपन्देही–२ का मतदाताका लागि उनी लामो समयदेखि परिचित र सक्रिय व्यक्तित्वका रूपमा चिनिन्छन्।
कांग्रेशको नयाँ नेतृत्व
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्कीले रुपन्देही–२ मा चुन्नप्रसाद शर्मा पौडेलको उम्मेदवारीलाई पार्टीको सोच–विचारसहितको सही निर्णयका रूपमा व्याख्या गरेका छन्। उनले पौडेलको सामाजिक, शैक्षिक र व्यावसायिक पृष्ठभूमिलाई अघि सार्दै पार्टीले बदलिँदो सन्दर्भअनुसार सक्षम व्यक्तिलाई अघि बढाएको दाबी गरे।
केन्द्रीय सदस्य कार्कीका अनुसार पौडेल लामो समयदेखि समाजसँग प्रत्यक्ष जोडिँदै आएका व्यक्ति हुन्।
शिक्षणदेखि व्यवसाय, समाज सेवा हुँदै राजनीतिसम्म
शिक्षण पेशाबाट सार्वजनिक जीवन सुरु गरेका पौडेलले आफूलाई कक्षाकोठासम्म सीमित नराखेको कार्कीको भनाइ छ। “उहाँले आफुलाई शिक्षण पेशामा मात्र सीमित नराखी सामाजिक सेवा पनि गर्नुपर्छ भन्ने भावले समाजसेवा, व्यवसाय र राजनीति पनि सुरु गर्नुभएको हो।” उनले उल्लेख गरे।
https://aarthikvoice.com/archives/83875
उम्मेदवारी चयनबारे प्रष्ट पार्दै कार्कीले भने, “यो क्षेत्रबाट हामीले उहाँलाई टिकट दिनुको कारण भनेको उहाँको समाजसेवा र राम्रो व्यक्तित्व हो।” उनले थपे, “नेपाली कांग्रेस विशेष महाधिवेशनमार्फत बदलिएको कांग्रेसले उहाँलाई छानेको हो। कांग्रेसले युवा नेतृत्व सहित आफुलाई बदलेको छ। अहिले हामी नयाँ नेतृत्व र नयाँ नीतिका साथ आएका छौँ।”
पार्टी नेतृत्वको उदाहरण दिँदै कार्कीले गगन थापाको कार्यकाललाई स्मरण गरे। “हाम्रै पार्टीका सभापति गगन थापाले स्वास्थ्यमन्त्री हुँदा जम्मा ९ महिनाकै अवधिमा पनि धेरै राम्रा काम गर्नुभयो,” उनले भने, “उहाँले आम गरिब नागरिकले पनि स्वास्थ्य सेवा पाउनुपर्छ भनेर स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्नुभयो।” आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकले उक्त कार्यक्रमबाट लाभ लिएको उनको दाबी थियो।
रोजगारी सृजनामा योगदान, नीति निर्माण र प्रतिबद्धता
पौडेलको व्यक्तिगत छविबारे बोल्दै कार्कीले भने, “चुन्न प्रसाद शर्मा पौडेल धार्मिक व्यक्तित्व पनि हो, सामाजिक व्यक्ति पनि हो। उहाँले परोपकारका थुप्रै काम गर्नुभएको छ।” कांग्रेसले यस्ता व्यक्तिलाई उम्मेदवार बनाएकोमा आफूहरू गौरवान्वित रहेको उनले बताए।
उद्योग, अस्पताल तथा अन्य व्यवसायमार्फत ठूलो संख्यामा रोजगारी सिर्जना गरेको उल्लेख गर्दै कार्कीले भने, “उहाँजस्तो मान्छे संसदमा गइसकेपछि नीति निर्माण गर्न सक्षम हुनुहुन्छ।” साथै, “संसदमा पाउने सुविधा समेत नलिएर जनताका लागि आफ्नो तलब–भत्ता खर्च गर्ने उहाँको प्रतिबद्धता छ,” उनले जोड दिए।
रुपन्देही–२ का मतदातामा उत्साह देखिएको दाबी गर्दै कार्कीले भने, “जनता अत्यन्त उत्साहित भएर उहाँलाई जिताउने र रुखमा भोट हाल्ने पक्षमा छन्। रुपन्देही–२ को विकासका लागि चुन्न प्रसाद शर्मा पौडेललाई जिताउनुको विकल्प छैन।” उनले विपक्षी दलका समर्थकहरूले समेत पौडेलको प्रशंसा गरिरहेको र समर्थन जनाउने संकेत दिएको दाबी गरे।
प्रतिस्पर्धा रोचक बन्दै
रुपन्देही–२ मा यसपटकको चुनावी प्रतिस्पर्धा विशेष चासोका साथ हेरिएको छ। स्थापित र प्रभावशाली राजनीतिक व्यक्तित्वसँग सामाजिक–व्यावसायिक पृष्ठभूमिबाट आएका उम्मेदवारबीचको भिडन्तले मतदाताको मनोविज्ञान कता झुक्ला भन्ने प्रश्न उठेको छ।
उनका समर्थक स्थानीय युवाहरू भने “रुपन्देही–२ को आवश्यकता नै चुन्नप्रसाद शर्मा (पौडेल) हुन्” भन्ने अभिव्यक्ति दिइरहेका छन्। निर्वाचन परिणाम जे जस्तो आए पनि यस क्षेत्रको चुनावी प्रतिस्पर्धा यसपटक विशेष अर्थपूर्ण र रोचक बन्ने संकेत देखिएको छ।































