काठमाडौं । हालैको आन्दोलनका क्रममा देशभरका भौतिक संरचनामा भएको क्षतिपछि पुनर्निर्माणमा हातेमालो गर्न लक्ष्मी टेक्नोप्लास्ट लिमिटेड अगाडि आएको छ।
ओम शिवम पाइप्स एण्ड फिटिङ्स र मेरीगोल्ड फर्निचर अन्तर्गतको यस कम्पनीले आगामी तीन महिनासम्मको आफ्नो कुल बिक्री रकमको १ प्रतिशत राष्ट्र पुनर्निर्माणमा दिने निर्णय गरेको हो। कम्पनीले यसलाई ऐतिहासिक योगदान र राष्ट्रिय उत्तरदायित्वको रूपमा लिएको छ।
“हाम्रा संरचना हामी आफैं बनाउँछौं” भन्ने नारालाई आत्मसात गर्दै कम्पनीले आफ्नो उत्पादन बिक्रीबाट प्राप्त रकमको एक अंश क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा खर्च गर्न लागेको जनाएको छ। यस कदमले देशभर आत्मनिर्भरता, एकता र सकारात्मक ऊर्जा फैलिने विश्वास कम्पनीले व्यक्त गरेको छ।
कम्पनीका प्रबन्ध निर्देशक अञ्जनी नन्दन मारुले भने, “यो हाम्रो देश हो, यसको सम्पत्ति र संरचना हाम्रो गौरव हो। हामी पुनर्निर्माणका हरेक प्रयासमा पूर्ण समर्पणसहित अघि बढ्न तयार छौं। यही हाम्रो दायित्व र प्रतिबद्धता हो।”
निकट भविष्यमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारीमा रहेको लक्ष्मी टेक्नोप्लास्टले यस निर्णयमार्फत आफ्नो सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाएको जनाएको छ।






































