काठमाडौँ । लगातार राताम्य बनेको शेयर बजारमा मंगलबार झिनो सुधार देखिएको छ। पछिल्ला दिनमा निरन्तर घट्दै आएको बजारमा आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२१ अंकले बढेर २५६५.१६ बिन्दुमा कायम भएको छ।
आज बजारमा ३२७ कम्पनीको ७९ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ। यद्यपि बजारमा सुधारका संकेत देखिए पनि लगानीकर्तामा निराशा कायम रहेको छ। ब्याजदर घटाउने र नीतिगत सुधारको प्रयास भइरहेका बेला पनि शेयर बजारमा सकारात्मक माहोल नफैलिनु नियामक निकायका लागि चिन्ताको विषय बनेको छ।
आजको कारोबारमा ६ उपसूचक राताम्य रहेका छन् भने ७ उपसूचकमा सामान्य सुधार देखिएको छ। उपसमूह अनुसार, विकास बैंक समूहको ०.४७ प्रतिशत, फाइनान्स समूहको ०.६१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.३८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.२९ प्रतिशतले शेयर मूल्य घटेको छ।
आज १४२ कम्पनीको मूल्य बढेको छ भने १०२ कम्पनीको घटेको छ। १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। त्यस्तै, शाइन रेशुङ्गा डिबेञ्चर, बन्दीपुर केवलकार, मालिबुङ इनर्जी, सागर डिस्टीलरी र बुङ्गल हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ। यसले केही विशिष्ट कम्पनीमा लगानीकर्ताबीच उत्साह सिर्जना गरेको छ।
शेयर बजार विश्लेषकहरूका अनुसार, बजारमा हाल देखिएको सुधार अस्थायी हुन सक्ने र लगानीकर्ताको भरोसा पुनः स्थापित गर्न दीर्घकालीन नीतिगत सुधार र सकारात्मक आर्थिक संकेत आवश्यक रहेको छ। आज सहास उर्जा लिमिटेडको सेयर सर्वाधिक कारोबार भएको छ। कम्पनीको ३५ करोड ५८ लाख ७१ हजार रुपैया बराबरको कारोबार भएको छ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको राधी विद्युत कम्पनीको २३ करोड ३२ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन एनआरएन इन्फ्रास्ट्रक्चरको २६ करोड ७६ लाख ९२ हजार रुपैंया, शिभम् सिमेन्ट्सको १६ करोड ५ लाख १९ हजार रुपैयाँ, सिनर्जी पावर डेभलपमेन्टको ९ करोड ५३ लाख २ हजार रुपैयाँको कारोबार भएको छ ।

































