काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्दोलनका क्रममा लुटिएका सामान फिर्ता नगर्नेहरूविरुद्ध कारबाही गर्ने चेतावनी दिएको छ। आयोगले आइतबार टंगालस्थित केन्द्रीय कार्यालयबाट सूचना जारी गर्दै इटहरी, हेटौंडा, पोखरा, बुटवललगायत कार्यालयमा भएको तोडफोड र लुटपाटका सामान फिर्ता गर्न आग्रह गरेको हो।
आयोगका अनुसार चारपांग्रे र दुईपांग्रे सवारी, कम्प्युटर, ल्यापटप, मोबाइल, टिभी, स्क्यानर, क्यामरा, माइक्रो ओभन, हिटर, पंखा, हार्ड डिस्क, आइप्याड लगायतका उपकरण चोरी भएका छन्। फेला परेका सामान काठमाडौँमा प्रहरी वृत्त मालिगाउँमा वा सम्बन्धित जिल्लाका प्रहरी कार्यालयमा बुझाउन अपिल गरिएको छ।
आयोगले चोरीमा संलग्नहरूलाई सिसिटिभी फुटेजमार्फत पहिचान गर्ने काम भइरहेको जनाएको छ।
जेन–जी आन्दोलनपछिका प्रदर्शनका क्रममा अख्तियारका केन्द्रीय तथा प्रदेश कार्यालयहरूमा तोडफोड, आगजनी र लुटपाट भएको थियो। टंगालस्थित मुख्य कार्यालयमा समेत आगजनी भएको भए पनि ठूलो क्षति हुनबाट जोगिएको आयोगले जनाएको छ।



































