काठमाडौं। आजदेखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आफ्ना सबै कार्यालय तथा निकायमा प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा ल्याएको छ।
मन्त्रालयले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले यस्तो कदम चालिएको जनाएको छ। प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा पारेको नकारात्मक असरलाई न्यूनीकरण गर्दै वैकल्पिक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिअनुरूप यो निर्णय गरिएको मन्त्रालयको भनाइ छ।
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठले उक्त निर्णयले सरकारी निकायहरू तथा सरोकारवाला पक्षहरूमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेका छन्। उनले प्रभावकारी कार्यान्वयनका लागि सबै निकायबीच समन्वय र सहकार्य अपरिहार्य रहने पनि उल्लेख गरेका छन्।
मन्त्रालयले निर्णय सफल कार्यान्वयनका लागि सम्बन्धित सबै निकाय तथा कर्मचारीलाई आवश्यक निर्देशन दिइसकेको जानकारी दिएको छ। साथै, आगामी दिनमा यसको कार्यान्वयनको अनुगमन र मूल्याङ्कनलाई समेत प्राथमिकतामा राखिने जनाइएको छ।






































