मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज प्रदेश सभाको बैठकबाटै आफ्नो पदबाट राजीनामा घोषणा गरेका छन्। आज विश्वासको मतका लागि बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सिंहले सदनमै आफ्नो अन्तिम सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
राजीनामापूर्व उनले आफ्नो मन्तव्यमा जनमत पार्टीभित्रको असहयोग, आन्तरिक विवाद र एकल निर्णयका प्रवृत्तिप्रति तीव्र असन्तुष्टि व्यक्त गरे। उनले भने, “सरकार सञ्चालनमा निरन्तर असहयोग हुँदै आएको छ, पार्टीका शीर्ष नेतृत्वको व्यवहारले मलाई काम गर्न असहज बनायो।”
मुख्यमन्त्री सिंहले जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सीके राउत र प्रदेश संसदीय दलका नेताको एकल निर्णयप्रति कडा टिप्पणी गर्दै पार्टीभित्र सहकार्यको भावना हराएको आरोप लगाए।
सिंहको राजीनामासँगै मधेश प्रदेशमा फेरि नयाँ सत्ता समीकरण र नेतृत्व परिवर्तनको सम्भावना देखिएको छ। अब प्रदेशमा नयाँ मुख्यमन्त्री चयन वा वैकल्पिक सरकार गठनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।


































