काठमाण्डौ । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा दुई समुदायबीच उत्पन्न तनावका कारण लगाइएको कर्फ्यू आज बेलुकी ६ बजेसम्मका लागि पुनः लम्ब्याइएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले हिजो बेलुकी ६ बजेदेखि लागू गरेको कर्फ्यू आज बिहान ८ बजेसम्म कायम गरिएको थियो। त्यसपछि दिउँसो १ बजेसम्म थप गरिएको कर्फ्यूलाई पुनः विस्तार गर्दै आज बेलुकी ६ बजेसम्म लागू रहने निर्णय गरिएको हो।
प्रशासनले वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा र इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्मको क्षेत्रमा कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको जनाएको छ।
यसैबीच पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सबै पक्षलाई संयमित रहन र सामाजिक सद्भाव कायम गर्न आग्रह गरेका छन् । उनले शान्ति, सहिष्णुता र आपसी समझदारी कायम गर्न सबै समुदायको सक्रिय सहयोग आवश्यक रहेको बताएका छन्।
साथै, सङ्घीय सरकार, मधेश प्रदेश सरकार तथा विभिन्न आयोग र सङ्घ–संस्थाहरूले पनि सामाजिक सद्भाव बिथोल्ने खालका गतिविधि नगर्न सर्वसाधारणसँग आग्रह गरेका छन्।





































