काठमाडौं । देशभर आज विविध कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइँदैछ । राष्ट्र र जनताको हितका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदप्रति सम्मान र स्मरण गर्दै प्रत्येक वर्ष माघ १६ गते यो दिवस मनाउने परम्परा रहेको छ ।
जहानियाँ राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि योगदान गरेका चार शहीद धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको योगदानको कदरस्वरूप शहीद दिवस मनाइन्छ । विसं २०१२ सालदेखि तत्कालीन काठमाडौं नगरपालिकाको अगुवाइमा माघ १६ गते शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।
राणा शासनविरुद्ध आवाज उठाएको अभियोगमा विसं १९९७ सालमा तत्कालीन सरकारले यी चारै जनालाई मृत्युदण्ड दिएको थियो । सोही वर्ष माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा तथा माघ १६ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभाभगवतीमा फाँसी दिइएको थियो । शहीदहरूको उक्त बलिदानले देशमा परिवर्तनको चेतना फैलियो र त्यसैको परिणामस्वरूप १० वर्षपछि विसं २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना भयो ।
शहीद दिवसका अवसरमा ती चार महान् शहीदसहित देश, लोकतन्त्र र गणतन्त्रका लागि ज्यान अर्पण गर्ने सबै ज्ञात तथा अज्ञात शहीदहरूलाई पनि स्मरण गरिन्छ । यसै सिलसिलामा माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमसहित शहीद सप्ताहसमेत मनाइने गरिएको छ ।
शहीद स्मारक लैनचौरमा विशेष कार्यक्रम
शहीद दिवसको अवसरमा आज देशभर विविध कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। यही क्रममा काठमाडौं महानगरपालिकाले शहीद स्मारक लैनचौरमा विशेष कार्यक्रमको आयोजना गरेको छ।

आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहित विशिष्ट व्यक्तित्वहरूले राष्ट्रका लागि जीवन अर्पण गरेका शहीदहरूप्रति श्रद्धा सुमन अर्पण गरेका थिए।
कार्यक्रमअघि प्रभातफेरि निकालिएको थियो। शान्तिवाटिकाबाट सुरु भएको प्रभातफेरिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्याण्ड, मार्चपास तथा शहीदहरूको तस्बिरसहितको बग्गी सहभागी थियो। उक्त प्रभातफेरि शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको थियो।
श्रद्धाञ्जली सभामा प्रधानमन्त्री, मन्त्रीहरू, सरकारका उच्च अधिकारी, जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
































