भारी वर्षा गराउने प्रणाली नेपालमा भित्रिँदा पछिल्लो १२ घण्टामा पर्साको वीरगञ्जमा सबैभन्दा धेरै पानी परेको छ । पछिल्लो १२ घण्टामा वीरगञ्जमा सबैभन्दा धेरै १४४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै बारामा १४०, रौतहटको गौरमा १२९, रौतहटको महेशपुरमा १२४ मिलिमिटर वर्षा भएको वर्षा मापन केन्द्रले जनाएका छन् । २४ घण्टामा १४० मिलिमिटर पानी पर्नुलाई चेतावनीको तहमा पुगेको मानिन्छ ।
मौसमाविद्ले शनिबार साँझदेखि काठमाडौंमा भारी वर्षा हुने जानकारी दिएका थिए ।
पानी पर्ने क्रम नरोकिँदा काठमाडौंका बागमती, विष्णुमतीको जलसतह बढेको छ । कोशी, कमला, त्रिशुलीसहितका नदीको जलसतह पनि बढेको छ । काठमाडौंमा उपत्यकाको गोदावरीमा ८२.४ मिलिमिटर वर्षा भएको छ ।
पहाडमा बाढी पहिलो र तराईमा डुबानले समस्या हुने भएकोले सुरक्षित स्थानमा बस्न प्रशासनले सूचना जारी गरेका छन् ।
निरन्तर वर्षा भएपछि प्रमुख राजमार्ग र हवाइ उडान बन्द गरिएको छ । बारा र पर्सामा भएको भारी वर्षा काठमाडौं उपत्यका, मध्य र पूर्वी क्षेत्रतर्फ सरेको छ ।


































