काठमाडौं । कांग्रेस सांसदहरूले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गर्न खोजेको आरोप एमालेका नेताहरूले लगाएका छन् । कांग्रेसले संसदभित्र असभ्य व्यवहार दर्साएको उनीहरूले आरोप लगाए ।
बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि संसद्मा मुठभेडको स्थिति सिर्जना भएको थियो । गृहमन्त्री रोष्ट्रमतर्फ जान लागेपछि ओली उठेका थिए । त्यसपछि कांग्रेस उपसभापति धनराज गुरुङ ओलीसँग झोक्किएका थिए ।
बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्ताैलाले कांग्रेसले संसद्मा अराजकता मच्चाउन खोजेको आरोप लगाए ।सभामुखले गृहमन्त्रीलाई बोल्न दिएपछि सत्तापक्षका सांसदसमेत उठेपछि संसद्मा अप्रिय स्थिति सिर्जना भएको थियो । त्यसक्रममा सत्ता र प्रतिपक्षका सांसदबीच हात हालाहालको स्थिति बनेको थियो ।
एमाले सांसद रघुजी पन्तले कांग्रेस सांसदले ओलीमाथि आक्रमण प्रयास गरेको आरोप लगाए । ‘मन्त्री भइसकेका कांग्रेसका सांसदले झम्टिन खोजे । अध्यक्ष ओलीले आफ्नो ठाउँमा उभिएर गृहमन्त्री बोल्न पाउनुपर्छ भन्दा प्रतिपक्षका सांसदले आक्रमण प्रयास गरे,’ पन्तले भने ।
त्यतै,नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिहीबार प्रतिनिधिसभामा बैठकमा सभामुख देवराज घिमिरेका कारण मुठभेडको अवस्था आएको बताएका छन् । बिहीबार साँझ संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरी उनले सभामुख घिमिरेले सदनमा जबरजस्ती कार्यसूचीमा प्रवेश गरेपछि अप्रिय स्थिति सिर्जना भएको बताएका हुन् ।
‘आज सदनभित्र जे अप्रिय स्थितिको सिर्जना भयो, यसको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ । किनकि सदनलाई जबरजस्ती कार्यसूचीमा प्रवेश गराएर एक प्रकारको अप्रिय अनपेक्षित स्थिति सिर्जना गर्ने कामको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ’, उनले भने ।
एउटा पार्टीको नेताको आदेशपालकको रूपमा सभामुखको भूमिका रहनु दुखको विषय भएको उनले बताए । ‘यसरी निरन्तर रूपमा जाँदैन भन्ने अपेक्षा गर्छौं । र उहाँको भूमिका जिम्मेवारीपूर्ण रूपमा निर्वाह गर्न सचेत गराउँछौँ’, थापाले भने ।






































