काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई संसदीय दलको नेता चयन गरिएसँगै उनको प्रधानमन्त्री बन्ने प्रक्रिया अघि बढेको छ। पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा शाह सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन भएका हुन्।
प्रतिनिधिसभामा स्पष्ट बहुमतसहित रास्वपाको उपस्थिति रहेकाले सरकार गठनका लागि अन्य दलसँग सहकार्य आवश्यक नपर्ने अवस्था बनेको छ। यस कारण राष्ट्रपति कार्यालयले संविधानअनुसार पृथक् रूपमा सरकार गठनको आह्वान गर्नुपर्ने अवस्था नरहेको बताइएको छ।
अब रास्वपाले आफ्नो संसदीय दलको नेता चयन भएको औपचारिक जानकारी राष्ट्रपतिसमक्ष पेश गर्नेछ। उक्त पत्रमा नेपालको संविधान २०७२ को धारा ७६(१) बमोजिम संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न अनुरोध गरिने प्रावधान छ। सो जानकारी प्राप्त भएपछि राष्ट्रपतिले संविधानअनुसार शाहलाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाउनेछन्।
यसैबीच, नयाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूको शपथ ग्रहणका लागि शीतल निवासस्थित राष्ट्रपति भवनमा आवश्यक तयारी अघि बढाइएको छ। प्राप्त जानकारीअनुसार भोलि शुक्रबार दिउँसो १२ बजेपछि शपथ कार्यक्रम तय गरिएको छ, र निमन्त्रित व्यक्तिहरूलाई सोअघि नै उपस्थित हुन सूचित गरिएको छ।































