काठमाडौँ। आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । तर गत वर्ष सन् २०२५ मा १५ लाखभन्दा बढी नेपाली विदेशिएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार सन् २०२५ को जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा १५ लाख २३ हजार नेपालीले विदेश यात्रा गरेका छन् ।
विभागले दिएको जानकारि अनुसार सोही अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश फर्किएका छन् ।
त्यस्तै, पर्यटन आवागमनतर्फ हेर्दा सन् २०२५ मा १० लाख १५ हजार ३ सय ७८ विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन् । सोही अवधिमा ९ लाख ८२ हजार ५ सय ६१ जना विदेशी नागरिक नेपाल भ्रमण सकेर फर्किएको तथ्यांकले देखाएको छ ।
विदेशी नागरिकहरू मुख्यतया पर्यटन र घुमघामको उद्देश्यले नेपाल आउने गरेको पाइएको छ भने नेपाली नागरिकहरूको हकमा अध्ययन तथा रोजगारीको खोजीमा विदेश जाने प्रवृत्ति बढ्दो क्रममा रहेको छ ।
एकातिर नेपालमा विदेशी पर्यटकको आगमन निरन्तर रहँदा पर्यटन क्षेत्र सक्रिय देखिएको छ भने अर्कोतिर ठूलो संख्यामा नेपाली युवाहरू रोजगारी र अध्ययनका लागि विदेशिनु देशभित्र रोजगारीका अवसर र उच्च शिक्षामा चुनौती कायमै रहेको उजागर गरेको देखिन्छ ।
































