काठमाडौँ । सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार आज बिहान ११ बजे गरिएको जलसतह मापनमा ब्यारेजमा पानीको प्रवाह प्रतिक्षेप २ लाख ७ हजार ३० क्युसेक पुगेपछि ढोका खोलिएको हो।
मङ्गलबार बेलुका १० बजे मापन गर्दा पानीको प्रवाह १ लाख ८२ हजार २८७ क्युसेक पुगेको थियो र सोहीअनुसार २४ ढोका खोलेको थियो। गत भदौ १७ गते पानीको बहाव उच्च हुँदा ५६ मध्ये ३८ ढोका खोलिएका थिए। त्यसपछि बहाव घट्दै गएको थियो भने आज बिहानदेखि पुनः बढेको प्रवक्ता खतिवडाले बताए।
कोशी ब्यारेजमा पानीको प्रवाह १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बालिन्छ। हाल कन्ट्रोल रुमले उक्त रातो बत्ती बालिएको जानकारी दिएको छ। पानीको सतह बढ्नुको मुख्य कारण पहाडी भेगमा भइरहेको वर्षा हो।






































