काठमाडौं – सरकारले देशभर निर्माणाधीन विभिन्न २० वटा आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्तको सूचीमा राखेको छ। मन्त्रिपरिषद् बैठकले औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन तथा निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनालाई प्राथमिकता दिएको हो।
राजपत्रमा प्रकाशित सूचनाअनुसार, औद्योगिक ग्राम अन्तर्गत बराह क्षेत्र (सुन्नसरी), जोरायल औद्योगिक ग्राम (डोटी) लगायतका क्षेत्रहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा राखिएको छ। साथै, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गत दमक, मयपुर, शक्तिखोर, लक्ष्मीपुर, मोतिपुर, नौवस्ता र दैजी औद्योगिक क्षेत्रहरू पनि सूचीमा परेका छन्।
विशेष आर्थिक क्षेत्र प्राधिकरणअन्तर्गत पाँचखाल र हरैया विशेष आर्थिक क्षेत्र तथा दोधारा चाँदनी सुक्खा बन्दरगाह पनि प्राथमिकतामा राखिएका छन्।
निजी क्षेत्रका आयोजनामध्ये सत्यवती दर्शन प्रा.लि. (सानो पाथिभरा), सिक्लेश अन्नपूर्ण, ड्रिम्स हिल्स, सुपा देवराली र सूर्यकुण्ड–गोसाईकुण्ड केबलकार प्रालिलाई पनि प्राथमिकता दिइएको छ।
सरकारले विस्तृत आयोजना प्रतिवेदन तयार, स्रोत लगानी सुनिश्चित, वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न र सम्बन्धित मन्त्रालयको सचिवस्तरीय निर्णय भएको आयोजना मात्र सूचीमा राख्ने नियम बनाएको छ। प्राथमिकता प्राप्त आयोजनाहरूमा बैंकहरूले सहज ऋण लगानी गर्न सक्नेछन्।


































