काठमाडौँ – चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा विदेशमा रहेका नेपालीहरूले एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबरको रकम स्वदेश पठाएका छन्। नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणअनुसार विप्रेषण आप्रवाह अघिल्लो वर्षको यही अवधिको तुलनामा २९.९ प्रतिशतले बढेको हो।
गत वर्षको यही महिनामा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढ्दै एक खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ पुगेको थियो। यस वर्ष भने अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले बढेर एक अर्ब २७ करोड डलरमा पुगेको राष्ट्र बैंकले जनाएको छ।
यसै अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ४४ हजार ४६६ पुगेको छ। त्यस्तै, पुनःश्रम स्वीकृति लिनेको संख्या २३ हजार ६४४ रहेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।






































