काठमाडौं। यो साता सेयर बजार ओरालो लाग्दै नेप्से परिसूचक १ प्रतिशतभन्दा बढीले घटेर बन्द भएको छ। गत साता २६१५.०३ विन्दुमा बन्द भएको नेप्से परिसूचक, यस साता १.१२ प्रतिशत अर्थात २९.१६ अंकले घट्दै २५८५.८७ विन्दुमा झरेको हो।
साताभरि बजार ४ कारोबार दिन खुला रहेको थियो। तीमध्ये २ कारोबार दिन नेप्से सामान्य अंकले बढेको भए पनि बाँकी २ कारोबार दिन दोहोरो अंकको गिरावट देखिएको हो। यस अवधिमा सेन्सेटिभ इण्डेक्स १.६९ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंकले ओरालो लागेको छ।
नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। गत साता दैनिक औसतमा ३ अर्ब ८७ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा यस साता दैनिक औसत कारोबार रकम घटेर ३ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ। यो रकम गत साताको तुलनामा ५.१७ प्रतिशत कम हो। त्यस्तै, दैनिक औसत कारोबार भएको सेयर संख्या ५.४० प्रतिशतले घटेको छ भने दैनिक औसत कारोबार संख्या भने २३.८९ प्रतिशतले बढेको छ।
यस साता कुल बजार पुँजीकरणमा पनि उल्लेखनीय गिरावट आएको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ९० अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ४८ अर्ब रुपैयाँ घट्दै ४३ खर्ब ४१ अर्ब रुपैयाँमा झरेको छ, जुन १ प्रतिशतभन्दा बढीको गिरावट हो।
उपसमूहगत रूपमा हेर्दा, १३ उपसमूहमध्ये यस साता केवल १ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड उपसमूह यस साता सकारात्मक देखिएको एकमात्र उपसमूह हो, जसको परिसूचक ०.४४ प्रतिशतले बढेको छ। गत साता २०.२४ विन्दुमा बन्द भएको उक्त उपसमूहको परिसूचक, यस साता ०.०९ अंक बढ्दै २०.३३ विन्दुमा पुगेको छ।
यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशतले घटेको छ। गत साता १३ हजार २७०.६९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४४६.१० अंकले घट्दै १२ हजार ८२४.५९ विन्दुमा झरेको छ। अंकका आधारमा पनि यही उपसमूह सबैभन्दा धेरै घट्नेमा परेको छ। यता, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने सबैभन्दा कम मात्रामा, ०.०५ प्रतिशतले घटेको छ।
































