काठमाडौँ। सरकारले आम नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन शुरु गरेको सामाजिक सुरक्षा कोषमा हालसम्म ९५ अर्ब ४४ करोड रुपैयाँ बराबरको योगदान संकलन भएको छ।
कोषका अनुसार हालसम्म सूचीकृत रोजगारदाता २२ हजार ३०९ र सहभागी योगदानकर्ता २६ लाख ४१ हजार १८९ पुगेका छन्। त्यसैगरी, कोषले हालसम्म १७ अर्ब ६४ करोड रुपैयाँ बराबर दाबी भुक्तानी गरेको छ।
भुक्तानी विवरण
औषधि उपचार, स्वास्थ्य तथा मातृत्व: २ अर्ब ५१ करोड
दुर्घटना तथा अशक्तता दाबी: २२ करोड ८६ लाख
आश्रित परिवार सुरक्षा: २९ करोड
अवकाश दाबी: १४ अर्ब ६१ करोड
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत अनिवार्य रूपमा कोषमा सहभागी गराउने व्यवस्था गरेपछि कोषको प्रभावकारिता बढेको छ। वर्तमानमा स्वरोजगार, उद्योग प्रतिष्ठान र संघसंस्थामा कार्यरत कामदार तथा श्रमिक कोषमा योगदानदाताका रूपमा सहभागी हुन सक्छन्।
कोषमा नियमित योगदान गर्नेले औषधि उपचार, पेन्सन, दुर्घटना–अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना अन्तर्गत सुविधा पाउनेछन्। विशेषज्ञहरूले कोषको प्रभावकारीता बढाउन थप सिर्जनशील योजना ल्याउन र योगदान रकम बढेसँगै लगानीका अन्य स्रोत खोजी गर्न आवश्यक भएको बताएका छन्।






































