काठमाडौं । सामाजिक सुरक्षा कोषमा राष्ट्रिय कल्याणकारी कोषको रकम समेत समेटिएपछि कोषमा जम्मा भएको कुल रकम १ खर्ब ३२ अर्ब रुपैयाँ नाघेको छ।
कोषले सोमबार सार्वजनिक गरेको जानकारीअनुसार योजना कार्यान्वयन सुरु भएको ६ वर्ष ७ महिनाको अवधिमा मात्रै १ खर्ब १ अर्ब २८ करोड रुपैयाँभन्दा बढी योगदान संकलन भएको हो।
औपचारिक क्षेत्रका करिब ६ लाख ७१ हजार श्रमिक, वैदेशिक रोजगारीमा रहेका झण्डै २० लाख नेपाली तथा अनौपचारिक र स्वरोजगार क्षेत्रमा आबद्ध करिब १ हजार ६ सय योगदानकर्ताबाट उक्त रकम उठाइएको कोषले जनाएको हो।
सामाजिक सुरक्षा कोषका विभिन्न कार्यक्रमअन्तर्गत दाबी भुक्तानी, अवकाश र पेन्सन शीर्षकमा हालसम्म करिब १८ अर्ब ५० करोड रुपैयाँ वितरण भइसकेको कोषले जनाएको छ।
यसै क्रममा योगदानकर्ताको आवश्यकता र सुझावलाई ध्यानमा राख्दै कोषले सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७ को पहिलो संशोधन लागू गरेको छ। संशोधित प्रावधानअनुसार अब विशेष सापटी लिन १२ महिना र धितो राखी सापटी लिन १८ महिना योगदान गरे पुग्ने व्यवस्था गरिएको छ। यसअघि यस्तो सापटीका लागि न्यूनतम ३६ महिनाको योगदान अनिवार्य थियो।
कोषले औपचारिक क्षेत्रबाट सुरु गरेका सामाजिक सुरक्षा योजनाहरू क्रमशः अनौपचारिक क्षेत्र, वैदेशिक रोजगार र स्वरोजगारतर्फ विस्तार गर्दै लगेको जनाएको छ।
साथै चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि सरकारी कोषबाट तलब–भत्ता पाउने कर्मचारीहरूलाई पनि सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा आबद्ध गराउने व्यवस्था लागू गरिएको छ।
कोषका अनुसार हालसम्म ९१ वटा स्थानीय तह र ३८ वटा सार्वजनिक संस्थाले आफ्ना कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराइसकेका छन्।
































