काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई निर्माण तथा आपूर्ति कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ।
कार्यालयले सोमबार जारी गरेको सूचनामा उल्लेख भएअनुसार जनता तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर-२ जलेश्वर, महोत्तरीको सिफारिसमा पुष्प हेम कन्स्ट्रक्सन प्रालि र हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोकको सिफारिसमा कौशिल बस्नेत निर्माण सेवा प्रालि कालोसूचीमा परेका हुन्।
पुष्प हेम कन्स्ट्रक्सन प्रालिका मुख्य व्यक्ति धनुषाका मुरारी घिमिरे रहेका छन् भने कौशिल बस्नेत निर्माण सेवा प्रालिका मुख्य व्यक्ति भक्तबहादुर बस्नेत हुन्। कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम दुवै कम्पनीलाई कालोसूचीमा राखिएको हो।
कालोसूचीको अवधिभर उनीहरू कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने कार्यालयले जनाएको छ।

































