काठमाडौँ। ‘सुदुरपस्चिम प्रदेश’ - धेरैले साहित्यिक शब्दमा ‘सुन्दर पश्चिम’ भनेर उपमा दिने गरेको यो भौगोलिक क्षेत्र भाषा,कला,संस्कृति र प्रकृतिका हिसाबले निकै भिन्न छ।
हुन त सुदूरपश्चिमलाई पृथक बनाउने धेरै विशेषताहरू छन्। ती मध्ये देउडा एक अतुलनीय पहिचान हो।
यहाँको कला, संस्कृति र जनजीवनमा देउडा गहिरोसँग जोडिएको छ।
देउडाले सुदूरपश्चिमको सामूहिक भावना र एकतालाई झल्काउँछ। वा भनौँ सुदूरपश्चिमको मूल पहिचान नै देउडाले बोकेको छ।
के हो देउडा ?
सुदूरपश्चिमका संस्कृतिविद्हरूका अनुसार देउडा शब्द 'देव' र 'डाँडा' शब्दबाट विकसित भएको मान्यता छ। प्राचीन समयमा देवस्थल र डाँडाकाँडामा मात्र देउडा गीत गाउने गरिन्थ्यो। अझै पनि सुदूरपश्चिमका दूरदराजका गाउँहरूमा मेलापात (घास,दाउरा,पिरोल,पतेला) गएका बेला देउडा गीत गाउने चलन छ।
मेलापात गएका बेला वन जङ्गलमा गाइने देउडा गीत समयको विकासक्रमसँगै समूहमा गाउन सुरु गरियो। असार महिनामा रोपाइको बेला काम गर्दागर्दै देउडा गाउन थालियो। बैतडी लगायतका सुदूरपश्चिमका कैयौं जिल्लाहरूमा अहिले पनि असारको महिना रोपाइँको खेतमा देउडा गाउँदै धान रोप्ने गरिन्छ।
एकातर्फ देउडाको विकास मेलापात र कृषि कर्मसँगै भइरहेको थियो भने अर्कोतर्फ देवस्थलहरूमा सामूहिक रूपमा मानिसजम्मा भएका बेला देवी देवताहरूलाई प्रसन्न गर्ने उद्देश्यले पनि देउडा गाइँदै थियो। जसले गर्दा गौरा,जात लगायत स्थानीय देवी देवताको पूजा गरिने प्रमुख चाडपर्वहरूमा देउडा स्थापित भएको थियो। र त्यसपछि 'देउडा गीत' केवल देउडा गीतमा मात्र सिमित रहेन। देउडा गीत, 'देउडा खेल' बन्न पुग्यो।
देउडा खेल गोलो घेरा बनाएर सामूहिक रूपमा पाइलामा पाइला मिलाएर खेलिन्छ। पुरुष र महिला दुवैको सहभागिता हुने धार्मिक पहिचान समेत बोकेको यो सांस्कृतिक कलामा प्रश्न–उत्तर शैलीमा गीत गाइन्छ, जसलाई ‘सवाल–जवाफ देउडा’ वा 'दोहोरा' पनि भन्ने गरिन्छ। जस्तै :
सवाल :
आकाशका तारा कति ? धर्तीका गाई कति ?
राम जी का चेला कती ? सीताका भाइ कति ?
जवाफ :
आकाशका तारा जति, धर्तीका गाई नाई
राम जी का लव कुस, सीताका भाइ नाई
देउडा गीतहरू तत्कालै रचना गरिने भएकाले यसलाई मौखिक साहित्यको महत्वपूर्ण अंगका रूपमा लिइन्छ। गीतका शब्दहरू सरल भए पनि अर्थपूर्ण, व्यङ्ग्यात्मक, भावनात्मक र जीवन्त हुन्छन्। धर्म संस्कृतिदेखि लिएर समाजका विकृति, विसङ्गति, प्रेम, विछोड, प्रकृति तथा दैनिक जीवनका अनुभवहरू देउडामा प्रभावकारी रूपमा व्यक्त गरिन्छन्।
सामाजिक दृष्टिले देउडा समुदायलाई जोड्ने सेतुका रूपमा रहेको छ। चाडपर्व, मेलापात, विवाह, रोपाइँ जस्ता सामूहिक कार्यका अवसरमा देउडा गाइने गरिन्छ। यसले थकान कम गर्नुका साथै सामूहिक श्रमलाई उत्सवमय बनाउने कार्य पनि गर्दछ। देउडा मार्फत नयाँ पुस्तालाई आफ्नो संस्कृति, भाषा र परम्पराबारे जानकारी हस्तान्तरण हुने भएकाले यसको शैक्षिक तथा सांस्कृतिक महत्व पनि उल्लेखनीय छ।
हाल आधुनिकता र पश्चिमा संस्कृतिको तीव्र प्रभावका कारण देउडा संस्कृति यसको मूल मर्म र भावनामा केही हदसम्म क्षय देखिन थालेको छ। तथापि, विभिन्न सांस्कृतिक कार्यक्रम, प्रतियोगिता, सञ्चार माध्यम तथा धार्मिक पहलहरू मार्फत देउडाको संरक्षण र प्रवर्द्धन गर्ने प्रयासहरू भइरहेका छन्। यद्यपी ती प्रयाप्त भने छैनन् ।
देउडा किन खेलिन्छ ?
देउडा खेलिनुका पछाडि बहुआयामिक कारणहरू रहेका छन्। परम्परागत रूपमा हेर्दा देउडा सामूहिक श्रमपछिको विश्राम, देवी देवतासँग जोडिने माध्यम, चाडपर्वको उल्लास, सामाजिक मेलमिलाप तथा भावनात्मक अभिव्यक्तिको माध्यमका रूपमा विकास भएको देखिन्छ।
ग्रामीण समाजमा जब मानिसहरू कृषि कर्म, मेलापात, वनजंगलको काम वा अन्य श्रमबाट थकित हुन्छन्, तब देउडाले उनीहरूलाई मानसिक राहत प्रदान गर्छ। देउडामा सामेल हुँदा मानिसहरूले आफ्नो दुःख, पीडा, प्रेम, आशा र असन्तुष्टि गीतमार्फत व्यक्त गर्न पाउँछन्।
त्यसैगरी, देउडाले सामाजिक संवादको काम पनि गर्दछ। सवाल–जवाफ शैलीमा गाइने देउडाले युवायुवतीबीच स्वस्थ संवाद, बौद्धिक तर्क र भाषिक कौशलको विकासमा योगदान पुर्याउँछ।
समाजका विविध विषयहरू जस्तै धर्म संस्कृति, राजनीति, प्रेम, विवाह, सामाजिक कुरीति, गरिबी, पलायन लगायतका विषय देउडाका माध्यमबाट सशक्त रूपमा उठाइन्छन्। धार्मिक तथा सांस्कृतिक दृष्टिले पनि देउडा महत्वपूर्ण छ। देवीदेवता प्रसन्न गराउन, सामूहिक आस्था प्रकट गर्न र सांस्कृतिक निरन्तरता कायम राख्न पनि देउडा खेलिन्छ।
बैतडीमा कुन–कुन पर्वमा देउडा खेलिन्छ ?
सुदूरपश्चिमका अन्य जिल्लाजस्तै बैतडी जिल्लामा पनि देउडाको विशेष सांस्कृतिक महत्व रहेको छ। यहाँ देउडा विशेष गरी गौरा पर्वमा व्यापक रूपमा खेलिन्छ। गौरा पर्व बैतडीको सबैभन्दा ठूलो सांस्कृतिक तथा धार्मिक पर्व मानिन्छ, जहाँ देउडा खेल पर्वको अनिवार्य अंगजस्तै बनेको छ। गौराका अवसरमा गाउँ–गाउँ, टोल–टोलमा रातभर देउडा खेल्ने चलन आज पनि जीवित छ।
यसका अतिरिक्त बैतडीमा दशैं तिहारका बेला जात (स्थानीय देवीदेवताका जात्रा), विवाह, ब्रतबन्ध, रोपाइँ–कटाइ तथा विभिन्न स्थानीय मेलाहरूमा पनि देउडा खेलिन्छ/गाइन्छ। यी पर्व र अवसरहरूमा देउडाले सामाजिक जमघटलाई अझ जीवन्त र अर्थपूर्ण बनाउने गर्दछ।
देउडामा सवाल–जवाफको अर्थ जता लग्यो उतै जान्छ
देउडाको सबैभन्दा मौलिक र आकर्षक पक्ष यसको सवाल–जवाफ शैली हो। देउडियाले सवाल उठाउँदा र जवाफ दिने क्रममा विषय कुनै निश्चित सीमाभित्र बाँधिँदैन। गीत गाउने व्यक्तिको बौद्धिक क्षमता, अनुभव र परिस्थितिअनुसार विषय जहाँ पुगे पनि स्वीकार्य मानिन्छ।
धर्म र संस्कृतिबाट सुरु भएको देउडा गीत प्रेम, समाज, राजनीति, व्यङ्ग्य वा समसामयिक घटनासम्म सहजै विषयान्तर हुन सक्छ। यही स्वतन्त्रता र स्वतःस्फूर्तताले देउडालाई जीवन्त बनाएको छ। देउडा गीतमा विषय बदलिँदै जानु , एउटै गीतका अलगअलग अर्थ लाग्नु यसको मौलिक सुन्दरता मानिन्छ।
देउडाको महत्व
देउडा सुदूरपश्चिमको सांस्कृतिक पहिचानको मेरुदण्ड हो। यसले स्थानीय भाषा, लवज, चालचलन र जीवनशैलीलाई संरक्षण गर्दै आएको छ। देउडामार्फत पुस्तौँदेखि मौखिक रूपमा ज्ञान, संस्कार र सामाजिक मूल्यहरू हस्तान्तरण हुँदै आएका छन्।
देउडा केवल मनोरञ्जनको साधन नभई सांस्कृतिक इतिहास र सामूहिक स्मृतिको अभिलेख पनि हो। यसले सुदूरपश्चिमको सामाजिक संरचना, जनभावना र जीवनदर्शनलाई बुझ्न महत्वपूर्ण आधार प्रदान गर्दछ।
भाषिक दृष्टिले देउडाको महत्व अत्यन्त उल्लेखनीय छ। देउडाले सुदूरपश्चिममा बोलिने डोटेली, बैतडेली, दार्चुली, अछामी लगायत स्थानीय भाषिक रूपहरूलाई संरक्षण गरेको छ। आधुनिक प्रभावका कारण स्थानीय भाषाहरू लोप हुने अवस्थामा पुगेका बेला देउडाले ती भाषाहरूलाई जीवन्त राख्ने काम गरेको छ।
देउडा नभएको भए सुदूरपश्चिमका धेरै मौलिक शब्द, उखान–टुक्का र भाषिक लवज सायद आज हराइसकेका पनि हुन्थे होला।
सांस्कृतिक दृष्टिले देउडा सुदूरपश्चिमको सामाजिक इतिहासको मौखिक अभिलेख हो। लिखित इतिहास कम पाइने ग्रामीण समाजका पीडा, संघर्ष, प्रेम, पलायन, गरिबी, सामाजिक अन्याय, धार्मिक आस्था र राजनीतिक चेतनासमेत देउडाका गीतहरूमा सुरक्षित छन्। यस अर्थमा देउडा केवल मनोरञ्जनको साधन नभई सामूहिक स्मृति र सामाजिक दस्तावेज पनि हो, जसले समयक्रममा समाजमा आएको परिवर्तनलाई प्रतिबिम्बित गर्दछ।
शैक्षिक र बौद्धिक दृष्टिले पनि देउडाको महत्व कम छैन। सवाल–जवाफ शैलीमा गाइने देउडाले तर्कशक्ति, भाषिक क्षमता, स्मरणशक्ति र तत्काल सिर्जनशीलताको विकासमा योगदान पुर्याउँछ। देउडियाले सीमित शब्द र लयभित्र गहिरो अर्थ व्यक्त गर्नुपर्ने भएकाले यसले व्यक्तिको बौद्धिक चातुर्य र अभिव्यक्ति क्षमतालाई धारिलो बनाउँछ। यही कारण देउडालाई लोकबौद्धिकताको उत्कृष्ट उदाहरण मानिन्छ।
सामाजिक एकताको दृष्टिले देउडा सबैभन्दा सशक्त माध्यम हो। जात, वर्ग, उमेर र लिङ्गको विभेद नगरी सबैलाई एउटै घेरामा उभ्याउने देउडाले सामाजिक समानता र आपसी सद्भावको सन्देश दिन्छ। सामूहिक श्रम, चाडपर्व र मेलापातमा देउडा खेलिनुले समुदायबीच आपसी विश्वास र एकता बलियो बनाउँछ।
धार्मिक हिसाबले पनि देउडाको महत्व गहिरो छ। देवीदेवताप्रति आस्था प्रकट गर्ने, सामूहिक प्रार्थना गर्ने र परम्परा जोगाउने माध्यमका रूपमा देउडा प्रयोग हुँदै आएको छ। गौरा, जात्रा र अन्य धार्मिक पर्वहरूमा देउडा नखेलिए ती पर्व अपूरो मानिने अवस्था आज पनि धेरै ठाउँमा देखिन्छ।
देउडा सुदूरपश्चिमको पहिचान, इतिहास, भाषा, संस्कृति र सामाजिक चेतनालाई एकैसाथ बोकेको अमूल्य सम्पदा हो। यसको संरक्षण गर्नु भनेको केवल एउटा लोकनाच जोगाउनु मात्र होइन, सुदूरपश्चिमी समाजको आत्मा, स्मृति र अस्तित्व जोगाउनु हो।
देउडाले समाजमा गरेको योगदान
देउडाले समाजमा आपसी सद्भाव, सहकार्य र एकताको भावना विकास गरेको छ। जात, वर्ग र लिङ्गको भेदभाव कम गर्दै सबैलाई एउटै घेरामा उभ्याँदै देउडाले सामाजिक समानताको सन्देश पनि दिन्छ।
सामाजिक विकृति, विसङ्गति र अन्यायप्रति व्यङ्ग्य गर्दै चेतना फैलाउने माध्यमका रूपमा पनि देउडा प्रयोग हुँदै आएको छ। यसले ग्रामीण समाजमा संवादको संस्कृति विकास गर्न, युवायुवतीको भाषिक तथा बौद्धिक क्षमता अभिवृद्धि गर्न र सामूहिक पहिचान मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ।
देउडाले समाजमा धार्मिक एकता र विश्वास बलियो बनाएको छ। हालको जेने–जेड पुस्तासहित उदयमान नयाँ पुस्तामा धर्म, संस्कृति र परम्पराको ज्ञान जीवित राख्न देउडाको संरक्षण अति आवश्यक छ।
समग्रमा, देउडा सुदूरपश्चिमको शान र आत्मा हो। यो केवल गीत र खेल मात्र होइन, सुदूरपश्चिमी समाजको जीवनपद्धति, भावना र चेतनाको प्रतिबिम्ब हो। बदलिँदो समय र आधुनिक पश्चिमा संस्कृतिको प्रभावबीच पनि देउडाले आफ्नो मौलिकता जोगाइराख्नु चुनौतीपूर्ण भए तापनि यसको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता हो।
देउडालाई जोगाउनु भनेको सुदूरपश्चिमको संस्कृति, पहिचान र इतिहासलाई जोगाउनु हो। त्यसैले देउडा केवल अतीतको सम्पदा नभई वर्तमान र भविष्यलाई जोड्ने सशक्त सांस्कृतिक सेतु हो।
































