काठमाडौँ । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा लगातार ढिलाइ भएपछि मुख्य ठेकेदार पटेल–रमण जेभी, (जनकपुर–९ धनुषा) सँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाइएको छ।
आयोजना कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ठेकेदारलाई "सम्झौता किन नतोड्ने" भनी स्पष्टीकरण मागेको छ। आयोजनाका अनुसार करिब ६१ प्रतिशत समय सकिँदा पनि भौतिक प्रगति १० प्रतिशतमै सीमित रहेको, मन्त्रालय तथा आयोजनाले दिएको सुधारका निर्देशन पालना नगरेको र कार्यमा उदासीनता देखिएको कारण ठेक्का रद्दतर्फ अघि बढाइएको हो।
सम्झौता रद्दसँगै २ अर्ब ४० करोडको कार्यसम्पादन जमानत र १ अर्ब २० करोड अग्रिम भुक्तानीसहित कूल ३ अर्ब ६० करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी जफत गर्ने प्रक्रिया पनि सुरु गरिएको आयोजनाले जनाएको छ।
करिब १४ अर्ब ८ करोड रुपैयाँ (करसहित) लागतमा ठेक्का लिएको कम्पनीले अनुमानित लागतभन्दा ३२ प्रतिशत कम दरमा प्रस्ताव गरेको थियो। माघ २०७९ मा काम सुरु भई असार २०८४ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। तर हालसम्म १० प्रतिशत भौतिक प्रगति मात्रै भएको छ भने करिब २ अर्ब १४ करोड रुपैयाँ (१५ प्रतिशत) भुक्तानी भइसकेको छ।
यस अवधिमा १३.३ किलोमिटर सुरुङ (टनेल बोरिङ मेसिनमार्फत) निर्माण २६ वैशाख २०८१ मा सम्पन्न गरिएको छ। तर बाँध र विद्युतगृह निर्माणमा ठोस प्रगति हुन नसकेको आयोजनाले जनाएको छ। सुनकोशी नदीको पानी मरिण नदीतर्फ मोडेर बागमती सिँचाइ आयोजनामा पु-याइने यो परियोजनाबाट हाल सिँचाइ हुँदै आएको ४५ हजार ६०० हेक्टर क्षेत्र विस्तार गरी १ लाख २२ हजार हेक्टर जमीनमा वर्षभरि सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ।
त्यस्तै, परियोजनाबाट ३१ मेगावाट विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ। यसले मधेश प्रदेशको कृषि उत्पादन, किसानको आम्दानी र ऊर्जा उत्पादनमा टेवा पुर्याउने भएकाले आयोजनालाई राष्ट्रिय गौरव र रूपान्तरणकारी परियोजनाका रूपमा अघि बढाइएको हो। आयोजनाको अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ।

































