काठमाडौँ । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आजबाट सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले यस चरणमा कुल ५ लाख ७२ हजार ४३१ कित्ता साधारण सेयर सार्वजनिक बिक्रीमा ल्याएको हो।
जसमध्ये ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषका लागि र १३ हजार ७९३ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सकिनेछ। साथै, ‘मेरो सेयर’ प्रणाली प्रयोग गरेर पनि सहज रूपमा आवेदन दिन सकिनेछ।
आईपीओ छिटोमा माघ २१ गते र ढिलोमा फागुन ३ गतेसम्म खुला रहने जनाइएको छ। यस निष्कासनको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीले यसअघि गत मंसिर २५ गते नेपाल धितोपत्र बोर्डबाट १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको थियो। सोही अनुमति अनुसार पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि गत पुस ९ गतेदेखि आईपीओ जारी गरिएको थियो।
कम्पनीले अब दोस्रो चरणअन्तर्गत सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ सार्वजनिक गरेको हो।






























