काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर निष्काशन प्रक्रियामा ढिलाइ गरेपछि ऊर्जा क्षेत्रका लगानीकर्ताले मात्रै १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ बराबरको घाटा बेहोर्नु परेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को अध्ययनअनुसार, २०८० साल जेठयता ४३ वटा आयोजनाले आईपीओ र ७ वटा कम्पनीले राइट सेयरमार्फत पुँजी संकलनका लागि आवेदन दिए पनि प्रक्रिया अघि नबढ्दा यति ठूलो क्षति भएको हो।
यी आयोजनाको कुल क्षमता ९७५ मेगावाट बराबरको रहेको इप्पानले जनाएको छ। इप्पानले बिहीबार सेबोनलाई पठाएको पत्रमा, ५० कम्पनीले समयमा सेयर जारी गर्न नसक्दा २३ अर्ब २७ करोड बराबरको निष्काशन रोकिएको, १२ अर्ब ४० करोडभन्दा बढी ब्याज खर्च थपिएको, २४ अर्ब ३० करोड लागत बढेको र ७१ अर्ब ७८ करोड बराबरको राजस्व आम्दानी गुमेको प्रष्ट पारिएको छ।
इप्पानले सेबोनमा अध्यक्ष नियुक्त नहुनु, ९० प्रतिशतभन्दा बढी नेटवर्थ अनिवार्य गर्नेजस्ता कानुनबाहिरका कारण देखाउँदै शेयर निष्काशन रोकिँदै आएको आरोप लगाएको छ। यस अवधिमा सेबोनले जम्मा १० कम्पनीलाई मात्र आईपीओ र ११ कम्पनीलाई राइट सेयर जारी गर्न अनुमति दिएको तथ्य पनि पत्रमा उल्लेख छ।
पत्रमा इप्पान अध्यक्ष गणेश कार्कीले उत्पादनपछि मात्रै नभई निर्माणाधीन अवस्थामै सर्वसाधारणलाई आईपीओमा सहभागी हुने व्यवस्था गर्नुपर्ने माग राखेका छन्। साथै, यस विषयमा पटक–पटक प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएकाले समस्या समाधान नभए आन्दोलनमा जानुपर्ने चेतावनी पनि दिइएको छ।
त्यस्तै, सीडीएससीले प्रवद्र्धक र सर्वसाधारणलाई छुट्टाछुट्टै आईजीन नम्बर दिने निर्णयका कारण नेप्सेमा सूचीकरण अवरुद्ध भएको भन्दै यसलाई तत्काल खारेज गर्नुपर्ने माग समेत गरिएको छ। इप्पानले २०८० साल भदौ २४ गते धितोपत्र बोर्डसँग गरेको १२ बुँदे समझदारीलाई पुनः स्मरण गर्दै, संस्थागत सुशासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। ऊर्जा क्षेत्रलाई व्यवस्थित, मर्यादित र जनउत्तरदायी बनाउन सेबोनले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।


































