काठमाडौँ । सेयर बजारमा आजदेखि सूचक गणना अन्तिम मूल्यको आधारमा हुने भएको छ। लगानीकर्ताको व्यापक विरोधपछि नेप्सेले अन्तिम १५ मिनेटको भारित औसत मूल्य (VWAP) विधि हटाएको हो।
अघिल्लो कारोबार दिनसम्म कम्पनीहरूको भारित औसत मूल्य प्रयोग गरी २ः४५ देखि ३ बजेसम्म समूहगत सूचक र नेप्से परिसूचक गणना हुँदै आएको थियो। गत चैत ७ गतेदेखि नेप्सेले नयाँ विधि लागू गरेको थियो, तर लगानीकर्ताको प्रतिक्रिया र बजार अस्थिरतालाई ध्यानमा राख्दै अब यसलाई परम्परागत अन्तिम मूल्य आधारमा फर्काइएको छ।
शेयर लगानीकर्ता विश्लेषक राजन लम्सालले भारित औसत मूल्य विधि हटाए पनि त्यसले कुनै परिवर्तन ल्याउने अवस्था नरहेको बताएका छन् । आर्थिक भ्वाइसँगको कुराकानीमा लम्सालले परम्परागत विधि र हालको १५ मिनेटको भारित औसतको नयाँ विधि बिचमा त्यस्तो कुनै अन्तर नदेखिएको कारण यसलाई पुनः पहिलेकै लयमा ल्याउन आफूहरूले माग गरेको र यसले बजारको घटबढलाई कुनै फरक नपार्ने बताएका छन् ।
"हामीले ससाना र ग्याप र कम्पनीहरूलाई चलायमान गराउँछ भन्ने र बजारमा हुने सम्भावित चलखेललाई रोक्ने अपेक्षाले नयाँ विधिको माग गरेका थियौँ तर त्यो विधिले पनि नयाँ कुनै प्रभाव पार्न सकेन बरु कारोबार थप झन्जतिलो बन्दै गयो यसकारण हामीले पुरानै विधि लागु गर्न आग्रह गरेका हौ।" लम्सालले भने


































