National life

स्मार्टफोन दिनानुदिन किन महँगिँदै छन् ? यस्तो छ मूल्यवृद्धिको भित्री कथा

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१८ माघ २०८२, आइतबार
948Shares
स्मार्टफोन दिनानुदिन किन महँगिँदै छन् ? यस्तो छ मूल्यवृद्धिको भित्री कथा
ncell

काठमाडौं । स्मार्टफोनको मूल्य बजारमा देखिने एउटा अंक मात्र होइन । यो उत्पादन प्रक्रिया, कच्चा पदार्थको उपलब्धता, प्रविधिगत नवप्रवर्तन र समग्र आर्थिक अवस्थाको संयुक्त परिणाम हो । त्यसैले बजारमा नयाँ फोनको मूल्य समय–समयमा घटबढ भइरहन्छ । उपभोक्ताले फोन किन्दा मूल्यसँगै यसको गुणस्तर, सुविधा र टिकाउपन पनि ध्यानमा राख्नुपर्छ ।

Royal Enfield
nic asia capital

पछिल्ला केही वर्षमा नेपालको स्मार्टफोन बजारमा ठूलो परिवर्तन आएको छ । पहिले विद्यार्थी, मध्यम वर्गीय परिवार, सबैका लागि बजेट अनुसारका केही न केही विकल्प सजिलै पाइन्थे । मूल्य संरचना पनि धेरै हदसम्म स्थिर थियो । तर अहिले काठमाडौं उपत्यका मात्र होइन, देशभर नै स्मार्टफोन महँगिँदै गएको महसुस सबैलाई हुन थालेको छ ।

स्मार्टफोनको मूल्यवृद्धिको कारण केवल स्थानीय पसलेले बढाएको मूल्य मात्र होइन । अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलाको समस्या, मुद्राको विनिमय दरमा आएको उतारचढाव र विश्वव्यापी बजारका परिवर्तनहरूले पनि यसमा ठूलो भूमिका खेलेका छन्। यसको असर नेपाली उपभोक्तामाथि प्रत्यक्ष परेको छ । स्मार्टफोन जस्तो दैनिक जीवनमा अत्यावश्यक वस्तु किन्दा खर्च र योजना दुवैमा थप दबाब परेको छ ।

विश्वव्यापी आपूर्ति शृंखलाको दबाब

स्मार्टफोन विभिन्न देशबाट ल्याइने पार्टपुर्जाहरूबाट बनाइन्छ । चिप, मेमोरी, डिस्प्ले र क्यामेरा जस्ता सामग्री फरक–फरक देशमा उत्पादन भएर अन्ततः एउटा फोनमा जडान हुन्छन्। पछिल्ला वर्षहरूमा कोरोना महामारीका कारण कारखाना बन्द हुनु, ढुवानीमा ढिलाइ हुनु र भूराजनीतिक तनाव जस्ता कारणले यो आपूर्ति शृङ्खला पटक–पटक प्रभावित भयो। अहिले कारखानाहरू विस्तारै सामान्य अवस्थामा फर्किए पनि आवश्यक पार्टपुर्जाको लागत अझै उच्च नै छ । स्मार्टफोन आयात गर्ने नेपाललगायतका देशका लागि यस्ता अन्तर्राष्ट्रिय समस्या सिधै यहाँको खुद्रा मूल्यमा देखिन्छन्। त्यसैले गर्दा उपभोक्ताले तिर्नुपर्ने खुद्रा मूल्य पनि बढ्दै गएको हो ।

एआई (कृत्रिम बुद्धिमत्ता)को तीव्र विस्तार र त्यसको प्रभाव

कृत्रिम बुद्धिमत्ता (एआई)को तीव्र विकासले प्रविधि क्षेत्रलाई अनपेक्षित रूपमा परिवर्तन गरिरहेको छ । ठूला एआई डेटा सेन्टर सञ्चालन गर्न कम्पनीहरूले अत्याधुनिक चिप र मेमोरी ठूलो मात्रामा खरिद गरिरहेका छन्। यिनै चिप र मेमोरी स्मार्टफोन र ल्यापटप जस्ता दैनिक प्रयोगका उपकरणहरुमा पनि प्रयोग हुन्छन्। यस कारण ती सामग्रीको माग अत्यधिक बढ्दा मूल्य पनि उक्लिएको छ ।

उदाहरणका लागि, सन् २०२६ को जनवरीमा र्यामको मूल्य करिब ३५ प्रतिशतले बढ्यो भने ल्ब्ल्म् मेमोरी १५ देखि २० प्रतिशतसम्म महँगियो । उच्च–ब्यान्डविथ मेमोरी भने वर्षभरिका लागि नै बिक्री भइसकेको अवस्था छ । चिपको अभावका कारण जिपियु क्लाउड रेन्टल भाडामा लिने लागत पनि करिब ६४ प्रतिशतसम्म घटबढ भएको देखिएको छ ।

यसको असर सामान्य उपभोक्तामा पनि स्पष्टरुपमा देखिएको छ । पिसी र सर्भरका लागि प्रयोग हुने र्यामको मूल्य अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत भन्दा बढीले बढेको छ । सर्भर वर्कस्टेशन निर्माणको माग करिब ४० प्रतिशतले बढे पनि कुल लागत भने २५ देखि ५० प्रतिसतसम्म बढेको छ ।

कारखानाहरु निरन्तर रुपमा सञ्चनलनमा रहे पनि माग अनुसार उत्पादन हुन सकेको छैन । यसले विश्वब्यापी प्रविधिको क्षेत्रमा करिब १२ प्रतिशतसम्मको महंगी बढाएको छ ।

कृत्रिम बुद्धिमत्ताले प्रविधिलाई नयाँ दिशा दिइरहेको छ तर त्यससँगै लागत पनि बढाइरहेको छ । विश्वभरका एआई डेटा सेन्टरले स्मार्टफोनमा प्रयोग हुने चिप र मेमोरी ठुलो मात्रामा खपत गरिरहेका छन्। यसले ती महत्वपूर्ण कम्पोनेन्टको अभाव सर्जिना गर्दै मूल्य बढाएको छ । यसैले गर्दा नेपालसहित विश्वभरका स्मार्टफोन बजार पनि यही मूल्यवृद्धिको लहरमा परेका छन्।

धेरै सुविधा, बढ्दो लागत

आजका स्मार्टफोन केही वर्षअघिका फोनभन्दा निकै उन्नत छन्। Fast Charging, उच्च रिफ्रेस रेट भएको डिस्प्ले र मल्टिपल लेन्स भएका क्यामेरा जस्ता सुविधा अब सामान्य भइसकेका छन्। यी सुविधा प्रयोगकर्ताका लागि फाइदाजनक भए पनि उत्पादन लागत भने बढाउँछन्।

अनुसन्धान, विकास र उच्च गुणस्तरका सामग्रीमा हुने खर्च अन्ततः उपभोक्ताले तिर्नुपर्ने मूल्यमा जोडिन्छ । त्यसैले नेपालमा पनि नयाँ मोडेलका फोनको मूल्य क्रमशः बढ्दै गएको हो ।

नेपालमा मुद्रा विनिमय र आयातको यथार्थ

नेपालको सन्दर्भमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको आयात निर्भरता हो । यहाँ बिक्री हुने सबै स्मार्टफोन विदेशबाट आयात हुन्छन्। नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा कमजोर हुँदा आयात खर्च बढ्छ । त्यसमाथि ढुवानी खर्च, बीमा र भन्सार शुल्क जोडिँदा फोनको अन्तिम खुद्रा मूल्य उल्लेख्य रूपमा बढ्न जान्छ ।

न्यू रोड, तम्राकार कम्प्लेक्स वा अनलाइन प्लेटफर्ममा हुने चाडपर्व अफरमा पनि विश्व बजारको सानो परिवर्तनले मूल्यमा असर देखिन्छ । अधिकांश नेपाली परिवारका लागि मध्यम मूल्यका फोन अझै पनि सबैभन्दा लोकप्रिय छन्। प्रिमियम फोन भने धेरैजसोका लागि लामो समय बचत गरेर मात्र किनिने वस्तु बनेका छन्।

गुणस्तर र अपेक्षाबीचको सन्तुलन

विश्वभर सुरक्षा, वातावरणीय दिगोपन र डेटा सुरक्षासम्बन्धी कडा नियम लागू हुँदै गएका छन्। यसले पनि उत्पादन लागत बढाएको छ । सोही अनुरुप नेपाली उपभोक्ताको अपेक्षा पनि बढेको छ ।

लामो समयसम्म सफ्टवेयर अपडेट, राम्रो वारेन्टी र टिकाउ हार्डवेयरको माग बढ्दै गएको छ । यी अपेक्षा पूरा गर्न ब्रान्डहरूले थप लगानी गर्नुपर्दा फोनको मूल्य पनि बढेको छ ।

मूल्य मात्रै होइन, उपयोगिता पनि महत्वपूर्ण

नेपालमा स्मार्टफोन Mobile Banking देखि चाडपर्वका तस्बिर, अनलाइन कक्षा र सामाजिक सञ्जालसम्म सबैका लागि अत्यावश्यक बनेको छ । त्यसैले मूल्य बढ्नु केवल साधारण महँगी मात्र होइन । आज स्मार्टफोन फोन र म्यासेजका लागि मात्र होइन । इसेवा, खल्ती जस्ता डिजिटल वालेट, टिकटक, अनलाइन पढाइ र विदेशमा रहेका परिवारसँग सम्पर्क राख्ने मुख्य साधन बनेको छ ।

हो, स्मार्टफोन महँगिँदै छन्। तर ती अझ शक्तिशाली, टिकाउ र दैनिक जीवनका लागि झन्आवश्यक पनि हुँदै गएका छन्। नेपाली उपभोक्ताका लागि अब मुख्य चुनौती भनेको बजेट र मूल्य–मानबीच सन्तुलन मिलाएर आफ्ना आवश्यकता अनुसारको सही फोन छनोट गर्नु हो ।

यो समाचार शेयर गर्नुहोस्
948SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?