काठमाडौं । हेटौँडा उपमहानगरपालिकाले नगर क्षेत्रभित्र प्लास्टिकका फूलको बिक्री, वितरण, उत्पादन तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ।
उपमहानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ कि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न र वातावरणीय प्रदूषण नियन्त्रण गर्न यस्तो निर्णय गरिएको हो। अबदेखि नगर क्षेत्रमा प्लास्टिकका फूलमाला बिक्री वा प्रयोग गरेको पाइएमा कानूनी कारबाही गरिने उपमहानगरपालिकाले चेतावनी दिएको छ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमका अनुसार प्लास्टिकका फूलहरू नकुहिने भएकाले माटो र वातावरण दुवैमा नकारात्मक असर पार्ने गर्छन्।
“प्लास्टिकका फूलले वातावरणीय सौन्दर्य नष्ट गर्छन्, त्यसैले सबैले सम्भव भएसम्म स्वदेशी तथा प्राकृतिक फूलको प्रयोग गर्नुपर्ने जनाएका छन् ।
उपमहानगरपालिकाले नगरवासीलाई वातावरणमैत्री व्यवहार अपनाउँदै स्थानीय फूलको उत्पादन र प्रयोग बढाउन आह्वान गरेको छ।


































