काठमाडौँ। हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने ७२३ मिटर लामो कन्काई पुल निर्माणका लागि १४ वर्षअघि दिइएको ठेक्का अन्ततः रद्द गरिएको छ।
सडक विभागअन्तर्गत हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय, इटहरीले पप्पु–महादेव–खिम्ती संयुक्त उपक्रम (जेभी)सँगको ठेक्का औपचारिक रूपमा तोडेको सार्वजनिक सूचना जारी गरेको छ।
पक्की पुल डिजाइन–बिल्डका लागि ३१ जेठ २०६८ मा सम्झौता गरिएको थियो। प्रारम्भिक योजना अनुसार पुल ३० जेठ २०७२ भित्र तयार हुने थियो।
ठेक्का रद्दसँगै निर्माण व्यवसायीको १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत पनि जफत गरिने भएको छ। योजना कार्यालयका अनुसार, गत ३१ असोजमा ठेक्का नतोड्ने कारण बुझ्न १५ दिने स्पष्टीकरण मागिएको थियो। तर पेश गरिएको स्पष्टीकरण असन्तोषजनक, अद्यावधिक कार्यतालिका र स्रोत परिचालन योजना नदेखिएको, जिम्मेवार प्रतिनिधि समेत उपस्थित नभएको कारण ठेक्का रद्द गरिएको हो।
कार्यालयले बाँकी काम पूरा गर्न आवश्यक रकम सरकारी बाँकी सरह असूली गर्ने र निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ। हालसम्म भएका कामको नापजाँच र वित्तीय मिलानका लागि निर्माण व्यवसायीलाई १५ दिनभित्र उपस्थित हुन भनिएको छ। उपस्थित नभएमा कार्यालयले स्वयम् नापजाँच अघि बढाउने जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले गत २६ असोजमा स्थल निरीक्षण गर्दै काम नगर्ने ठेकेदारलाई कडाइका साथ कारबाही हुने चेतावनी दिएका थिए। स्थानीयले पुल नहुँदा आवागमन, व्यापार व्यवसाय र पर्यटन प्रवर्द्धनमा ठूलो समस्या भएको भन्दै तत्काल निर्माण पूरा गर्न माग गरेका थिए।
कुल १९ स्पानमध्ये हालसम्म ८ मात्र बनेका छन्। बाँकी ११ स्पानमध्ये २ वटामा गर्डर हालिएको, ६ वटाको जग हालिएको र ३ वटाको जग हाल्न बाँकी रहेको छ। निर्माण म्याद २०८० सालमै सकिनुपर्ने भए पनि व्यवसायीले म्याद थपको निवेदन दिएका थिए। तर काम सम्पन्न हुने विश्वसनीय आधार नदेखिएकाले थप म्याद दिइएको थिएन।
यस निर्णयपछि अब कन्काई पुलको बाँकी निर्माण कार्य सरकारी निगरानीमा नयाँ योजना अनुसार अघि बढाइने अपेक्षा गरिएको छ।

































