काठमाडौँ – शुक्रवार बिहान पहिरोले बगाएर सिमलताल त्रिशूलीमा बेपत्ता भएका दुई वटा बसका यात्रुमध्ये हालसम्म १५ वटाको शव भेटिएको छ ।
फरक फरक ठाउँमा भेटिएका १५ पठा शव मध्ये आठ वटा शवको परिचय समेत खुलिसकेको छ भने बाकीको पहिचान हुन बाकी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
असार २८ गते शुक्रवार वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको एञ्जल डिलक्स र काठमाण्डौबाट गौरका लागि छुटेको गणपति डिलक्स बस सिमलतालबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको हो । नेपालमा भएका सम्पूर्ण स्रोत साधन र प्रविधिको प्रयोग गर्दा समेत बेपत्ता रहेको बस र बसमा सवार यात्रु पूर्णरूपमा फेला पर्न सकेका छैनन् ।
ती बसमा रहेका ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका छन्। तीमध्येमा अझै ४७ जना यात्रु र दुई बस बेखबर छन् । अन्य यात्रु र बसको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
खोजी कार्यकालागि उक्त क्षेत्रमा दैनिक रूपमा सय भन्दा बढी सशस्त्र नेपाल प्रहरीलाई परिचालन गरिएको छ ।






































