National life

योग र ध्यान कर्मचारीको मनोबल बढाउने माध्यम: नेत्रबहादुर भुजेल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ चैत २०८१, आइतबार
490Shares
योग र ध्यान कर्मचारीको मनोबल बढाउने माध्यम: नेत्रबहादुर भुजेल
ncell

काठमाण्डौं । झट्ट हेर्दा योग र ध्यान उस्तै उस्तै लागे पनि शाब्दिक अर्थमा योग भनेको जोड्नु हो । आत्मालाई परमात्मासँग जोड्नु नै योग हो भने ध्यान भनेको एकाग्र भएर विचार शून्यको अवस्थामा पुग्नु हो ।

समग्र शारीरिक, मानसिक र आध्यात्मिक शान्तिको लागि गरिने अभ्यास योग हो जसमा आसन, मुद्रा र श्वासको अभ्यास गरिन्छ भने ध्यान मानसिक र मनको शान्तिको लागि गरिने अभ्यास हो । योगको एक अंशको रूपमा ध्यानलाई मान्न सकिन्छ वा भनौँ भने योगभित्र ध्यान समेत समावेश भएको हुन्छ ।

Royal Enfield
nic asia capital
साधारण बोलीचालीको भाषामा ध्यान भन्नाले एकाग्र भएर वा तल्लीन भएर सोच मग्न हुनुलाई जनाउँछ । तर ध्यान भन्नाले सोच मग्न नभई सोचाइलाई हटाउनु हो मनमा भएका विकारहरूलाई ध्यानको माध्यमबाट दिमाग खालि बनाउनु वा शून्यतामा प्रवेश गर्नु नै ध्यान हो वा ध्यान भन्नाले हास, जागरूकता, सचेतना, साक्षी भाव, द्रष्टा भव हो ।

योग र ध्यानको बिचमा नङ मासुको जस्तो सम्बन्ध छ । योगले शारीरिक स्वास्थ्यलाई बलियो बनाउँछ भने रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । त्यसै गरी ध्यानले तनावलाई कम गर्दछ । हाम्रो मनमा असंख्य कल्पना तथा विचार एकसाथ चल्ने गर्छ। यस कारण हाम्रो मन तथा मस्तिष्कमा अनेकौँ कुरा खेल्ने गर्दछ । यस्ता कुरा जुन हामीले सोच्न पनि चाहँदैनौँ । यही ध्यान हामीलाई अनावश्यक कल्पना तथा विचारलाई मनबाट हटाएर शुद्ध तथा निर्मलता तर्फ डोल्याउँछ । ध्यान जति जति गहिरो हुँदै जान्छ, व्यक्ति साक्षी भावना स्थित हुन थाल्दछ । त्यसमा कुनै पनि भाव, कल्पना तथा विचारका क्षण मात्रले पनि प्रभाव पार्न दिँदैन । मन तथा मस्तिष्क मौन हुनु नै ध्यानको प्राथमिक स्वरूप हो ।

विचार, कल्पना तथा अतीतको सुख दुःखमा बाँच्नु ध्यान विरुद्ध हो । ध्यानमा इन्द्रिय मनका साथ, मन बुद्धिको साथ, आफ्नो स्वरूप आत्मामा लीन हुन थाल्दछ । जसले साक्षी वा द्रष्टा भाव बुझ्दैन, उनीहरूले सुरुमा अभ्यास गर्दा आँखा बन्द गर्नुपर्छ । अभ्यास हुँदै गएपछि आँखा बन्द होस् वा खुल्ला, साधक आफ्नो स्वरूपको साथ नै जोडिएर रहन्छ । अन्त्यमा उ साक्षी भावमा स्थिर रहेर कुनै कामलाई पूरा गर्दा पनि ध्यानमा बस्न सक्छ । ध्यानको अर्थ एकाग्रता मात्र होइन । एकाग्रता टर्चको लाइट सरह हुन्छ, जसले एउटै ठाउँलाई मात्र फोकस गर्छ । तर ध्यान त्यो बल्ब सरह हुन्छ जसले चारै दिशामा प्रकाश फैलाउँछ । सामान्यतया मानिसहरूको ध्यान कम वाटको चिम जस्तो हुन्छ । जसमा पुरा ब्रह्माण्ड नै समाहित हुने गर्दछ ।

आज नैतिक उन्नति र सुख चरम रूपमा भएता पनि मानिसले आत्मा सन्तुष्टिको फल चाख्न पाएको छैनन् । फल स्वरूप धनसम्पती अथाह भएता पनि डिप्रेसन र चिन्ताको रहस्यमय दलदलमा फसिरहेका छन् । योगले हाम्रो शारीरिक स्फूर्ति मात्र नबढाई हाम्रो आन्तरिक ऊर्जालाई जगाउँछ । योगको अंशमा रहेको ध्यानले आफूभित्र रहेको सकारात्मक विचारधारालाई जगाई रहन सक्छ ।

योग र ध्यानको अभ्यास बाट आम मानिसहरूलाई हुने फाइदाहरू

१. तनाव कम हुन्छ

२. खानपानमा सुधार हुन्छ

३. दृष्टिकोणमा सुधार हुन्छ

४. शारीरिक र मानसिक शान्ति हुन्छ

५. मानसिक स्वास्थ्य राम्रो हुन्छ

योग र ध्यानको बारेमा जानिसके पछि यसको प्रयोगले मानव जीवनमा के कस्ता प्रभाव पार्ला भनी विचार गर्दा योग र ध्यानले जीवन जिउने कलामा सकारात्मक प्रभाव पार्दछ । तनाव र रिस कम हुने, सकारात्मक सोचको विकास, शरीरमा स्फूर्ति, मानसिक शान्ति कायम हुन गई हरेक काममा ऊर्जा सहितको कार्य सम्पादन भई उत्कृष्ट नतिजा प्राप्त हुन्छ । योग र ध्यानले मानव जीवनमा पारेको सकारात्मक प्रभावको कारणले गर्दा आज विश्वभरि नै जुन २१ तारिखमा विश्व योग दिवस र २१ डिसेम्बरमा विश्व ध्यान दिवस मनाउन थालिएको छ ।

नेपालमा पनि यी अन्तर्राष्ट्रिय दिवसहरू हर्ष र उल्लासका साथ व्यावहारिक रूपमा नै योग अभ्यास गरेर मनाइन्छ भने नेपालको सन्दर्भमा आफ्नै राष्ट्रिय दिवसहरू समेत रहेका छन् । माघ १ गतेलाई राष्ट्रिय योग दिवसको रूपमा मनाउँदै विभिन्न योग सम्बन्धी कार्यक्रमहरू ग्रिन छ भने वैशाख पूर्णिमालाई राष्ट्रिय ध्यान दिवसको रूपमा मनाइन्छ । आम जनतालाई स्वास्थ्य र मस्त रहन योग र ध्यान अनिवार्य आवश्यकता भए जस्तै यसका अलावा कर्मचारीहरूलाई उच्च नैतिक बल प्राप्त गर्न र नागरिक मैत्री व्यवहारमा थप वृद्धि गर्नको लागि योग र ध्यानको महत्त्वपूर्ण भूमिका रहेको छ ।

निन्द्रा बेहोसी हो तर ध्यान होस् सहितको आराम हो । यसले कर्मचारीहरूलाई दिनभर सेवामा तन्दुरुस्त र ध्यानपूर्वक काम गर्न सहयोग गर्दछ । यसले कर्मचारी प्रशासनमा रहेका ढिलासुस्ती र घुस खोरीलाई निरुत्साहित गर्न पनि सहयोग गर्दछ । सरकारको सेवा प्रवाहमा सुधार ल्याउन भूमिका खेल्दछ । हामी सबैले बुझ्नु पर्ने कुरा के छ भने योग र ध्यानमा कुनै धर्म ग्रन्थ, पथ, सम्प्रदाय वा ईश्वरको नाम लिइन्न । त्यसै कारण यसले कर्मचारीको उत्साह र सेवा प्रवाहको हालको शैलीमा ठुलो परिवर्तन ल्याउँछ ।

योग र ध्यानबाट कर्मचारीहरूलाई हुने फाइदाहरू:

१. कर्मचारीको कार्यक्षमतामा वृद्धि

२. कार्यशैलीमा सकारात्मकता ल्याउने

३. नागरिक मैत्री व्यवहारलाई थप प्रभावकारी बनाउने

४. कुशल नेतृत्वको विकास हुने ।

५. सहभागितामूलक व्यवस्थापनमा विशेष जोड दिइने ।

६. रिस, द्वेष र ईर्ष्यामा कमी आउने ।

७. तनाव कम हुने ।

८. आपसी द्वन्द्व व्यवस्थापनमा सहजता हुने ।

९. भ्रष्टाचारमा कमी आउने ।

१०. अहमता मेटिएर जाने ।

यसका साथै कर्मचारीको जागिरे जीवनको अलावा व्यक्तिगत जीवनमा समेत आमूल परिवर्तन आई खानपानमा सुधार, आचरण र रहन सहनमा समेत सुधार आउँछ । तेरो मेरोको भावना मेटिएर जाने, आपसी भाइचाराको भावना आउने र समग्र स्वास्थ्यमा समेत सकारात्मक परिवर्तन आई रोग व्याधिहरू हटेर जानुको साथै दीर्घ जीवन बाँच्नका लागि समेत योग र ध्यानको महत्त्व अहम् रहेको छ । नेपाल सरकारले योग र ध्यानको महत्वलाई बुझेर नै मिति २०८० असोज १२ गतेदेखि लागु हुने गरी गृह मन्त्रालय अन्तर्गतका सम्पूर्ण कर्मचारीहरूलाई बिहान १० बजेदेखि १५ मिनेट योग र ध्यानको अभ्यास गरेर मात्र कार्यालयको काम थालनी गर्न निर्देशन दिएको थियो । जसले कर्मचारीको कार्य दक्षतामा वृद्धि हुनुको साथै ग्राहकमैत्री भावनामा बढोत्तरी हुने विश्वास लिएको छ ।

सरकार परिवर्तनसँगै पहिलो सरकारले गरेका निर्णयहरू नव गठित सरकारलाई मान्य नहुने परिपटी मौलाएको देशमा जीवनोपयोगी योग र ध्यानले समेत निरन्तरता पाउला नपाउला भन्न सकिने अवस्था छैन । वास्तवमा जुनसुकै सरकार आएता पनि राम्रा कामहरूले निरन्तरता पाउनु पर्दछ भने नराम्रा कामहरू छन् भने तुरुन्तै हटाउनु पर्दछ । पूर्वग्राही हुनु भनेको अरूको कुरा नसुन्ने र आफ्नो कुरा मात्र लाद्न खोज्ने परिपाटि हो जसले समाज र राष्ट्रलाई समेत नराम्रो सँग दलदलमा फसाउने काम गर्दछ ।

अन्त्यमा, मानव जीवनमा सहज रूपमा जिउने कला भनेको नै योग र ध्यान हो । रोग लागेपछि योग र ध्यानमा लाग्नुभन्दा पहिले नै बालक देखि वृद्ध सम्मले योग ध्यानलाई आफ्नो अमूल्य निधी सम्झेर जीवनभर स्वास्थ्य र मस्त भई बाँच्ने आधारशिला तयार गर्नुपर्दछ । अझै योग ध्यानको महत्त्व कर्मचारीहरूलाई बढी नै रहेको छ । जनताको सेवा छिटो, छरितो र दक्षता पूर्वक सम्पादन गर्नका लागि योग ध्यानले अहम् भूमिका खेल्ने कुरामा दुई मत हुन सक्दैन भन्ने कुशल नेतृत्व प्रदान गर्न, मृदुभाषी बन्न, सधैँ हँसमुख रहन र सकारात्मक सोच विकास गर्न समेत योग र ध्यानको महत्त्व उत्तिकै रहेको छ ।

भुजेल प्रा. नि. वीरगन्ज, मधेश प्रदेश नेपाल टेलिकमको उपप्रबन्धक हुन् । नेपाल टेलिकम एक्काइसौँ वार्षिकोत्सव स्मारिका २०८१ बाट साभार गरिएको हो।

यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?