काठमाडौँ । सोलु हाईड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस २९ गतेदेखि आम सर्वसाधारणका लागि निष्कासन गरेको ८२ लाख कित्ता आईपीओमा आजसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले निष्कासित सेयरमध्ये सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरूका लागि ३ लाख कित्ता सेयर सुरक्षित गरेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
आईपीओमा आवेदन दिन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनले तोकेका शाखा कार्यालयहरू मार्फत आवेदन दिन सकिनेछ । साथै, ‘मेरो सेयर’ प्रणाली प्रयोग गरेर अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । सोलु हाईड्रोपावर लिमिटेडले गत कात्तिक २४ गते प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो । सोही अनुमतिअनुसार, पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि गत मंसिर ७ गतेदेखि कुल ४ करोड १० लाख कित्ता आईपीओ निष्कासन गरिएको थियो ।
































