काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकडारा गाउँपालिका महोत्तरीका वर्तमान उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर शुक्रवार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले सोही गाउँपालिका वडा नं.१ अन्तर्गतका स(साना सडक ढलान गर्नको लागि विनियोजन भएको रकममा अनियमितता गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यसबारे उजुर परेसँगै अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख ९अधिकृत छैटौँ० महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव(इन्जिनियर सञ्जय कुमार मंडलले योजनाको खरिद प्रक्रियामा तयार गरिएको गुणस्तर सम्बन्धी मापदण्ड अनुसार काम नगरी रु ८ लाख ६५ हजार १४५ भुक्तानी गर्न भूमिका खेलेको पाइएकाले उनीहरुविरुद्ध सोही बराबरको बिगो माग दाबी गरिएको छ ।
यसै गरी एकडारा गाउँपालिकाकी उपाध्यक्ष महजबी खातुनले समेत स्थलगत अनुगमन गरी लागत अनुमान बमोजिमको कार्य सम्पन्न भइसकेको भनी गलत प्रतिवेदन दिएको अख्तियारको भनाई छ ।
यसै गरी श्री जानकी कन्सट्रक्शनका प्रोप्राइटर राकेश कुमार रायले समेत गलत नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदनको आधारमा भुक्तानी लिएको पाइएकाले उनलाई समेत आठ लाख पैँसट्ठी हजार एक सय पैँतालिस रुपैयाँ बिगो कायम गरेर आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

































