काठमाडौँ । काठमाडौँ उपत्यकामा हनी ट्र्यापमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक गतिविधि मार्फत लाभ लिने उद्देश्यले योजनाबद्ध ढंगले सामाजिक सञ्जालमार्फत पुरुषसँग सम्पर्क बढाउने र त्यसपछि बार्गेनिङ गरेर रकम असुल्ने कार्यमा संलग्न रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका तेन्जी डोमा छिरिङ भनिने सिर्जना तामाङ र सौरभ भनिने लीला बहादुर तामाङलाई राजधानीको बौद्धबाट पक्राउ गरेको हो । पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको
प्रहरी अनुसन्धानका क्रममा लीला बहादुर तामाङले पीडितको फेसबुक आइडी सिर्जना तामाङको ह्वाट्स एपमा पठाई साथी बन्न लगाएको र फेसबुक मेसेन्जरबाट सिर्जना तामाङले पीडितसँग कुरा गरी भेट्नलाई आफ्नो कोठामा बोलाएको खुलेको छ।
त्यसपछि सौरभले दिएको मोबाइलबाट सिर्जनाले आफ्नो र पीडितको अश्लील भिडियो बनाई उक्त मोबाइल सौरभलाई फिर्ता गरेको पाइएको छ । त्यसपछि उक्त भिडियो सिर्जना र सौरभले पीडितलाई पठाई सुरुमा पीडितसँग १ करोडको बार्गेनिङ गरेको खुलेको छ । यस्तै पछि १५ लाखमा कुरा मिलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफू यसरी ठगिएपछि पीडित प्रहरीमा पुगेका थिए ।
पक्राउ परेकाहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

































