काठमाडौं। सरकारले सार्वजनिक यातायातमा नयाँ भाडादर लागू गरेको छ। इन्धनको मूल्य वृद्धिसँगै विभिन्न आर्थिक सूचकहरूलाई आधार मानेर सरकारले यात्रुवाहक र मालवाहक सवारी साधनको भाडा समायोजन गरेको हो।
नयाँ व्यवस्थाअनुसार यात्रुवाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढाइएको छ।
त्यस्तै, मालवाहक सवारी साधनको भाडा पहाडी मार्गमा २१.६८ प्रतिशत र तराई मार्गमा १५.७५ प्रतिशतले बढाइएको छ। विभाग स्रोतका अनुसार इन्धन मूल्यमा आएको परिवर्तनलाई नै भाडा वृद्धिको प्रमुख आधार बनाइएको हो।
यस निर्णयसँगै सर्वसाधारणले अब यात्रा गर्दा र सामान ढुवानी गर्दा नयाँ निर्धारण गरिएको भाडा अनुसार शुल्क तिर्नुपर्नेछ। यातायात व्यवस्था विभागले भाडा समायोजनको स्वीकृति प्राप्त गर्न मन्त्रालयमा प्रस्ताव पेश गरेको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले भाडावृद्धिको निर्णय अनुमोदन गरेसँगै विभागले औपचारिक सूचना जारी गर्ने तयारी गरेको छ।
































