काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भएपछि सार्वजनिक यातायात क्षेत्र गम्भीर दबाबमा परेको छ। बढ्दो सञ्चालन खर्चका कारण व्यवसाय टिकाउनै कठिन बन्दै गएको भन्दै यातायात व्यवसायीहरूले भाडा समायोजनका लागि सरकारसँग तत्काल पहल गर्न माग गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार जारी गरेको विज्ञप्तिमा इन्धन मूल्यवृद्धिको प्रत्यक्ष असर यातायात क्षेत्रमा परेको उल्लेख गर्दै सेवा सञ्चालन नै चुनौतीपूर्ण बन्दै गएको जनाएको छ। महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा हवाई इन्धनको मूल्य बढ्नेबित्तिकै हवाई भाडा समायोजन हुने तर सार्वजनिक यातायातको हकमा सरकार उदासीन देखिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।
महासंघका अनुसार यातायात व्यवस्था विभागले यसअघि नै यात्रुवाहक सवारीमा ११.३३ प्रतिशत, पहाडी मालवाहकमा १४.२९ प्रतिशत र तराई मालवाहकमा ८.८१ प्रतिशत भाडा वृद्धि गर्न सिफारिस गरिसकेको भए पनि उक्त निर्णय अझै कार्यान्वयनमा आएको छैन। यसले व्यवसायीहरू थप अन्योल र आर्थिक दबाबमा परेको महासंघको भनाइ छ।
इन्धन मूल्यवृद्धिसँगै दैनिक सञ्चालन खर्च उल्लेख्य रूपमा बढ्दा व्यवसायीहरूले घाटा व्यहोर्नुपरेको उल्लेख गर्दै महासंघले यस्तो अवस्था दीर्घकालीन रूपमा सहन नसकिने चेतावनी दिएको छ। साथै, संघीय तथा प्रदेश सरकारलाई वैज्ञानिक आधारमा यथाशीघ्र भाडा समायोजन गर्न आग्रह गरिएको छ।
माग सम्बोधन नभए व्यवसायीहरू आफैं भाडा निर्धारण गर्न बाध्य हुने वा सेवा नै अवरुद्ध गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत महासंघले दिएको छ।

































