काठमाडौं । कार्यसम्पादन मूल्यांकनमा देशभरका ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले १७ वटा सूचकका आधारमा सार्वजनिक गरेको पछिल्लो मूल्यांकनअनुसार काठमाडौंले ४४.९७ अंक मात्र प्राप्त गरेको छ, जुन महानगरहरूमध्ये सबैभन्दा न्यून हो ।
यस वर्षको मूल्यांकनमा मोरङको विराटनगर महानगरपालिका सबैभन्दा अब्बल सावित भएको छ । विराटनगरले ७८.११ अंक हासिल गर्दै पहिलो स्थान सुरक्षित गरेको छ । दोस्रो स्थानमा ७६.३३ अंकसहित ललितपुर महानगरपालिका रहेको छ भने ६८.०४ अंकसहित चितवनको भरतपुर महानगरपालिका तेस्रो स्थानमा परेको छ ।
त्यसैगरी पोखरा महानगरपालिका ५८.७६ अंकसहित चौथो स्थानमा, वीरगञ्ज महानगरपालिका ५४ अंकसहित पाँचौं स्थानमा रहेका छन् । काठमाडौं महानगरपालिका भने ४४.९७ अंकसहित छैटौं स्थानमा सीमित भएको छ ।
कुन महानगर कति अब्बल ?
-
विराटनगर : ७८.११
ललितपुर : ७६.३३
भरतपुर : ६८.०४
पोखरा : ५८.७६
वीरगञ्ज : ५४
काठमाडौं : ४४.९७
आयोगले स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकन वित्तीय अनुशासन, राजस्व व्यवस्थापन, सेवा प्रवाह र सामाजिक सूचकसमेत समेटेर १७ वटा आधारमा गरेको हो । असार १० भित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/नगरेको जस्ता कानुनी समयसीमाको पालना प्रमुख सूचकका रूपमा रहेका छन् ।
यस्तै, आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबाट संकलित रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत हिस्सा मासिक रूपमा प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको विषयलाई पनि मूल्यांकनमा समेटिएको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रक्षेपणसहितको विवरण अर्थ मन्त्रालयमा समयमै पेश गरे/नगरेको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको अवस्थालाई समेत आधार बनाइएको छ ।
यस अतिरिक्त राजस्व परिचालनको प्रभावकारिता, बजेट खर्चको प्रगति, बेरुजु स्थिति, ‘सूत्र’ सफ्टवेयरको प्रयोग अवस्था, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ परीक्षण गराउने महिलाको अनुपात, एसईई परीक्षा नतिजा तथा खोप लगाइएका बालबालिकाको प्रतिशतजस्ता सूचकहरूलाई पनि समग्र मूल्यांकनमा समावेश गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार देशभरका स्थानीय तहमध्ये ८० अंकभन्दा माथि प्राप्त गर्ने संख्या चार मात्र छन्, जसमा अधिकांश पश्चिम नेपालका स्थानीय तह परेका छन् ।




































