काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्ने भएको छ। बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा तालिका सार्वजनिक गरिएको हो।
सो बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् भने प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सभामुखले सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको छ ।
सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यावाद ज्ञापन गरिने छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने तालिकामा देखिन्छ । यता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गर्नेछन् ।
त्यसपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा देखिन्छ ।
सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रसले संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको अवस्थामा हिजो शनिबार बसेको शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेकोले र आजको प्रतिनिधिसभा बैठकले निरन्तरता पाउने अवस्था सिर्जना भएको छ ।





































