काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका सबै १६५ वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले सङ्खुवासभा निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक गरेसँगै देशभरका सबै निर्वाचन क्षेत्रको नतिजा आएको जनाएको हो।
आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी सफलता हासिल गर्दै १२५ निर्वाचन क्षेत्रमा जित दर्ता गरेको छ। त्यसैगरी नेपाली कांग्रेसले १८ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ९ निर्वाचन क्षेत्रमा जित हात पारेको छ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ८ निर्वाचन क्षेत्रमा जित निकालेको छ। अन्य दलमध्ये श्रम संस्कृति पार्टीले ३ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले १ निर्वाचन क्षेत्रमा जित हासिल गरेको आयोगले जनाएको छ।
यसैबीच महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका छन्। उनको जितसँगै स्वतन्त्र उम्मेदवारले पनि प्रतिनिधिसभामा १ सिट सुरक्षित गरेका छन्। प्रतिनिधिसभाका २७५ सदस्य चयनका लागि देशभर फागुन २१ गते मतदान सम्पन्न भएको थियो। जसअनुसार १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० सदस्य समानुपातिक प्रणालीबाट चयन हुने व्यवस्था छ।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ पनि मतगणना जारी रहेको छ। हालसम्म समानुपातिकतर्फ १ करोड २ लाखभन्दा बढी मत गणना भइसकेको छ भने अन्तिम नतिजा आउन अझै केही समय लाग्ने जनाइएको छ।






































