काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी बर्दघाट नगरपालिका–१३ का सभापति जितबहादुर हरिजनले पार्टीबाट राजीनामा दिएका छन्। फागुन २१ गते हुने आम निर्वाचनमा नवलपरासी (बसुप) क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसमा राजनीति गर्दै आएका बिक्रम खनाललाई राष्ट्रिय स्वतन्त्र पार्टी ले टिकट दिएपछि असन्तुष्ट बनेका हरिजनले पार्टी छोड्ने निर्णय लिएका हुन्।
राजीनामामा उनले विभिन्न कारण उल्लेख गरे पनि, उनी निकट पार्टी नेताहरूका अनुसार बिक्रम खनाललाई टिकट दिँदा नवलपरासीको समग्र पार्टी पंक्तिले आफू अपमानित भएको महसुस गरेको र त्यसकै प्रतिक्रियास्वरूप हरिजनले राजीनामा दिएको जानकारी दिएका छन्।
२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट रास्वपाको तर्फबाट महेन्द्र सेन ठकुरीले प्रतिस्पर्धा गरेका थिए।
तर अन्तिम समयमा नेपाली कांग्रेसका बिक्रम खनाललाई टिकट दिइएपछि रास्वपाको मूल समूह असन्तुष्ट बनेको छ। यही असन्तुष्टिको प्रतिक्रियास्वरूप पार्टीका जिम्मेवार पदमा रहेका पदाधिकारीहरूले राजीनामा दिन थालेको बताइएको छ।
महेन्द्र सेन ठकुरीलाई अपमानजनक रूपमा पन्छाएर बिक्रम खनाललाई टिकट दिन, कांग्रेसबाटै रास्वपा प्रवेश गरेका पार्टी उपाध्यक्ष स्वर्णिम वाग्लेको मुख्य भूमिका रहेको चर्चा छ। वाग्ले र बिक्रम खनालबीचको व्यक्तिगत सम्बन्धलाई पार्टीको टिकट वितरणमा दुरुपयोग गरिएको आरोपसँगै असन्तुष्टि चुलिएको हो।
आफूहरूलाई रास्वपाको संगठन निर्माणमा खटिएका अब्बल कार्यकर्ता मान्नेहरू यस क्षेत्रका उम्मेदवारसमेत कांग्रेसकै पृष्ठभूमिका भएको बताउँदै आएका छन्।
“टिकट वितरणको प्रक्रियाले रास्वपालाई पनि पुरानै दलजस्तो बनाइयो, जुन हामी स्वीकार गर्न सक्दैनौँ। महेन्द्र सेन ठकुरीमाथि गम्भीर अन्याय गरिएको छ। यस्तो प्रवृत्तिले अब रास्वपाको पहिचान नै संकटमा परेको छ,” असन्तुष्ट कार्यकर्ताहरूको भनाइ छ।































