काठमाडौं। जिल्ला प्रहरी परिसर भक्तपुरले ‘स्वीप अपरेसन’ सञ्चालन गर्दै ६० जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार चैत २१ गते परिसर तथा मातहतका विभिन्न वृत्तमार्फत गरिएको अभियानमा एकैदिन ६० जनालाई पक्राउ गरिएको हो। मोटरसाइकल चोरी लगायत आपराधिक गतिविधिमा संलग्न तथा शंकास्पद व्यक्तिहरूमाथि निगरानी बढाइरहेको क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ।
परिसरका सूचना अधिकारी तथा डीएसपी प्रकाश जबेगुका अनुसार यस अभियानलाई ‘स्वीप अपरेसन’ नाम दिइएको छ र आगामी दिनमा पनि यस्तो कारबाही निरन्तर अघि बढाइनेछ।
यसैबीच, सोही दिन गरिएको सवारी चेकिङका क्रममा राधेराधे क्षेत्रमा मादक पदार्थ सेवन गरेर यात्रुवाहक बस चलाइरहेका एक चालकलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ।
































