काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । आज विहानै प्रधानमन्त्री निवास वालुवाटार पुगेका उनीहरुले डेड घण्टा लामो छलफल गरेको बताइएको छ ।
सत्ता साझेदार दल नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् । प्रधानमन्त्री प्रचण्डलाई एमाले र नेपाली कांग्रेसले राजीनामा दिन दवाव दिइरहेको अवस्थामा उनी भने संसद् फेश गर्ने तयारीमा छन् ।
प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेको र संसद्बाट विश्वासको मत पाउने सम्भावना पनि नरहेको भन्दै रास्वापाका मन्त्रीहरुले राजीनामा दिने मनस्थिति बनाएर छलफलका लागि बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई अहिले राजीनामा नदिन सुझाएको बताइएको छ । प्रचण्डले आफू संसद् फेस गर्न तयार रहेको बताउँदै सहयोगका लागि आग्रह गरेका छन् ।
माओवादी केन्द्रका एक नेताले बताएअनुसार प्रचण्डको ब्रिफिङपछि रास्वपाका मन्त्रीहरु तत्कालका लागि राजीनामा दिनबाट पछि हटेका छन् ।
सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।
बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए ।
नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ ।
































