काठमाडौँ। विश्व वातावरण दिवसको अवसर पारेर होटल सोल्टीमा पहिलो पटक वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स (डब्लूएमसीसी) सम्पन्न गरिएको छ।
नेपाल नेपाल उद्योग परिसंघ, द कोका–कोला फाउन्डेसन, राष्ट्रिय मानव अधिकार आयोग, खालि सिसी, वुमन फर ह्युमन राइट्स र कन्फेडेरेसन अफ नेपालिज इन्डस्ट्रिज योङ अन्ट्रप्रन्योर्स फोरमको संयुक्त आयोजनामा उक्त सम्मेलन गरिएको हो।
सम्मेलनको उद्घाटन प्रमुख अतिथि तथा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले वृक्षारोपण गरी गरेका थिए। उद्घाटन समारोहमा प्रमुख अतिथिको मन्तव्य, मटेरियल रिकभरी फेसिलिटीको अनावरण र ‘एबिसी फर क्लाइमेट चेन्ज’ पुस्तकको विमोचन गरिएको थियो।
डब्लूएमसीसीले फोहोर व्यवस्थापन, जलवायु परिवर्तन र वातावरणीय स्थायित्व सम्बन्धी महत्त्वपूर्ण मुद्दाको समाधानको लागि सरकारी कर्मचारी, उद्योग व्यवसायी, वातावरणविद् र नागरिक अगुवालाई एकसाथ ल्याएको थियो। समापनमा वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले मन्त्रालयले जलवायु चुनौतीका लागि चालेका आवश्यक पहल बारे जानकारी दिएका थिए।
सम्मेलनमा भएको मेयर फोरममा फोहोरको प्रभावकारी व्यवस्थापन रणनीतिका बारेमा स्थानीय सरकारी अधिकारी र उद्योगीबीच संवाद गरिएको थियो। ललितपुर, धनगढी, धनकुटा, बूढानीलकण्ठका मेयर र चन्द्रागिरिका उपमेयरको सहभागिता रहेको छलफलको उद्घोषण टफ टकका आयोजक दिलभूषण पाठकले गरेका थिए।
कोका–कोला फाउन्डेसनका प्रेसिडेन्ट कार्लोस पागोआगाले यस पहलबारे भने, 'वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स नेपालको लागि एक कोशेढुङ्गा हो। यस सम्मेलनले हामीले सामना गर्नुपरेको वातावरणीय चुनौतीहरूको दिगो समाधानहरू खोज्ने द कोका–कोला फाउन्डेसनको साझा प्रतिबद्धतालाई उजागर गरेको छ।'
यस सम्मेलनले सर्कुलर अर्थव्यवस्थालाई प्रवर्द्धन गर्न फोहोरलाई उपयोगी स्रोतहरूमा परिणत गर्ने उपायको बारेमा छलफल गरिएको थियो। उक्त छलफलमा कार्बन उत्सर्जन, प्लास्टिक प्रदूषण, काठमाडौंको वायु प्रदूषण, सगरमाथा लगायत हिमालमा देखा परेको जलवायु परिवर्तनको असर जस्ता विषयमा छलफल भएको थियो।
वुमन फर ह्युमन राइट्सकि प्रेसिडेन्ट कविता पाण्डेले भने, 'यो सम्मेलनले जलवायुका असर कम गर्ने कार्यमा भाग लिन चाहने समुदायहरूलाई थप उर्जा प्रदान गरेको छ । साथैमा यस सम्मेलनले वातावरण संरक्षणमा महिलाहरूको सहभागितालाई पनि सशक्त बनाएको छ।'
प्रतिनिधि सभा सदस्य सोबिता गौतम, तोसिमा कार्की र उदय राणाले वातावरणीय चुनौतिको सामना गर्न साझा प्रयासको महत्वपूर्ण आवश्यकतालाई जोड दिएका थिए। नेपालमा फोहोर व्यवस्थापन र जलवायु सम्बन्धी कार्यलाई अगाडि बढाउने व्यापक चासो र प्रतिबद्धतालाई उजागर गर्न ३३ जिल्ला र ५ देशका गरी ६०० संस्थाका करिब एक हजार प्रतिनिधि सम्मेलनमा सहभागी थिए ।
डब्लूएमसीसीले सरकारी कर्मचारी, सांसद, कूटनीतिज्ञ र उद्योगलाई अग्रणीलाई एकताबद्ध गर्न राष्ट्रिय मञ्च प्रदान गरिएको थियो। यसले नेपालको फोहोर व्यवस्थापन र जलवायुको एजेन्डालाई अगाडि बढाउन सहयोग गर्नुका साथै नीतिगत संवादलाई पनि बढावा दिन सफल भएको थियो।


































